सन् २०२४ मा तीन दशकयता कै सबैभन्दा बढी पत्रकारको हत्या

 

कराची – विश्वभर बढ्दै गएको राजनीतिक दमन र हिंसात्मक द्वन्द्वले २०२४ लाई पत्रकार हत्याको आधारमा पछिल्लो तीन दशकयताकै सबैभन्दा घातक वर्ष बनाएको छ। पत्रकार संरक्षण समिति (सीपीजे) को नयाँ तथ्यांकअनुसार, १८ देशमा कम्तीमा १२४ सञ्चारकर्मीले ज्यान गुमाएका छन्, जुन विश्वव्यापी रूपमा प्रेस स्वतन्त्रतामाथि बढ्दो खतराको संकेत हो।

कुल मृत्युमध्ये झण्डै ७० प्रतिशत इजरायल र गाजा युद्ध सुरु भएपछि मारिएका छन् । यस युद्धमा संकलन गर्ने क्रमा ८५ पत्रकार मारिएका छन् । यसैगरी, सूडान र पाकिस्तान २०२४ मा पत्रकार हत्या संख्या अनुसार दोस्रो स्थानमा रहेका छन्, दुवै देशमा ६ जना पत्रकारको हत्या भएको छ। सूडानमा जारी विनाशकारी गृहयुद्धका कारण हजारौं नागरिक मारिनुका साथै लाखौं विस्थापित भएका छन्, भने पाकिस्तानमा पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरता र मिडिया नियन्त्रण तीव्र भएपछि लामो समयपछि पहिलो पटक पत्रकार हत्याका घटना पुनः वृद्धि भएका छन्। पाकिस्तानमा सन् २०२१ यता कुनै पत्रकार मारिएका थिएनन्, तर २०२४ मा राजनीतिक उथलपुथलका बीच पत्रकारहरू निशानामा परेका छन्।

सीपीजेका एसिया कार्यक्रम संयोजक बेह ली यीले पत्रकारिताका लागि यो अहिलेसम्मकै सबैभन्दा खतरनाक समय भएको बताउँदै, “२०२४ मा पत्रकारहरूमाथि भएका आक्रमणहरू हाम्रो तथ्यांक राख्न सुरु गरेको सन् १९९२ यताकै सबैभन्दा खराब रेकर्ड हो,” भन्दै चिन्ता व्यक्त गरिन्। उनले पछिल्लो वर्ष पत्रकार हत्याका सबैभन्दा धेरै घटनाहरू दर्ता भएको जनाउँदै स्वतन्त्र पत्रकारहरू सबैभन्दा बढी प्रभावित भएको बताइन्।

सीपीजेको तथ्यांकले थप चिन्ताजनक अवस्था देखाएको छ। सन् २००० यता पाकिस्तान, भारत, मेक्सिको, इराक, सिरिया, र फिलिपिन्स विश्वभर पत्रकारहरूका लागि निरन्तर रूपमा सबैभन्दा खतरनाक मुलुकहरूमध्ये पर्दै आएका छन्। यी देशहरूमा बारम्बार पत्रकारहरूमाथि आक्रमण हुने गरेको छ, तर दोषीहरू दण्डहीनताको अवस्थामा रहेकाले न्याय सुनिश्चित हुन सकेको छैन। बेह ली यीले पत्रकार हत्या संसारकै ‘सुरक्षित अपराध’ मध्ये एक बनेको बताउँदै, जबसम्म दोषीहरूलाई दण्डित गरिँदैन, यस्ता आक्रमणहरू निरन्तर हुने चेतावनी दिइन्। उनले भारत, पाकिस्तान र मेक्सिको लगायतका सरकारहरूलाई पत्रकार हत्या नियन्त्रणका लागि ठोस कदम चाल्न आग्रह गरिन्।

पाकिस्तानमा प्रेस स्वतन्त्रता नियन्त्रण गर्न हालै पारित गरिएको पाकिस्तान इलेक्ट्रोनिक क्राइम्स ऐन पत्रकारहरूलाई दमन गर्ने कानुनी औजार भएको बताउँदै सीपीजेले त्यसप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। यस कानुनअन्तर्गत सरकारलाई ‘झूटा समाचार’ फैलाएको आरोपमा पत्रकारहरूलाई कारबाही गर्ने व्यापक अधिकार दिइएको छ। सीपीजे का अनुसार, यो कानुनअनुसार कुनै व्यक्ति वा पत्रकारले गलत सूचना फैलाएको ठहर भएमा उसलाई तीन वर्षसम्मको जेल सजाय वा दुई लाख पाकिस्तानी रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनसक्छ। सीपीजे यस्तो कानुनी व्यवस्था प्रेस स्वतन्त्रता दमन गर्ने माध्यम भएको भन्दै कडा आपत्ति जनाएको छ। यस्तै, मेक्सिको विश्वकै पत्रकारहरूका लागि सबैभन्दा खतरनाक मुलुकहरूमध्ये एक रहँदै आएको छ, जहाँ २०२४ मा मात्रै पाँच पत्रकार मारिएका छन्। पत्रकार संरक्षण समितिले वर्षौंदेखि मेक्सिको सरकारले पत्रकारहरूको सुरक्षामा ध्यान नदिएको भन्दै आलोचना गर्दै आएको छ, यद्यपि त्यहाँ सुरक्षाका लागि विभिन्न संरचनागत व्यवस्था गरिएको छ।

पत्रकारहरूलाई दबाउने तरिकाबारे सोध्दा बेह ली यीले सरकारहरूले विभिन्न रणनीति अपनाउने गरेको खुलाइन्। उनले विशेष गरी कानुनी तथा नियामकीय उपायहरू प्रयोग गरी प्रेसलाई नियन्त्रणमा राख्न खोज्ने गरेको उल्लेख गरिन्। उनका अनुसार, हालका वर्षहरूमा वित्तीय र नियामकीय कारबाहीलाई समाचार संस्थामाथि दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति तीव्र रूपमा देखिएको छ।
सीपीजेले सरकारहरूलाई पत्रकार सुरक्षाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न आग्रह गर्दै “हरेक पटक कुनै पत्रकार मारिन्छ, सत्य बताउने एउटा आवाज हराउँछ” भन्दै पत्रकारहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा तदारुकता अपनाउन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस