बोस्टन— भारतको रिलायन्स फाउण्डेशनकी संस्थापक तथा अध्यक्ष नीता अम्बानीले हार्वर्ड इण्डिया सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन दिँदै भारतको ओलम्पिक आयोजना गर्ने योजनाबारे आफ्ना विचार राखिन्। उनले भारतलाई विश्वकै हरित (ग्रीन) र दिगो ओलम्पिक आयोजनाको केन्द्र बनाउन खोजिएको बताइन्।
साथै, उनले भारतीय हस्तकला र हस्तशिल्पीहरूलाई सशक्त बनाउने ‘स्वदेश’ पहलबारे पनि चर्चा गरिन्। हार्वर्ड विश्वविद्यालयमा दिइएको उक्त सम्बोधनमा उनले आफ्नै बाल्यकालका अनुभवहरू र सरल जीवनबाट यात्रा सुरु गरेको कथा पनि सुनाइन्।
ओलम्पिकबारे बोल्दै नीता अम्बानीले भारतले अब ओलम्पिक आयोजना गर्नुपर्ने समय आएको बताइन्। उनका अनुसार, भारत चाँडै नै विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने क्रममा छ, तर विश्वका १० ठूला अर्थतन्त्रहरूमध्ये भारत मात्र यस्तो देश हो, जसले अहिलेसम्म ओलम्पिक आयोजना गर्न सकेको छैन। उनले यसलाई अनौठो भन्दै भारतमा ओलम्पिक आयोजना हुनु गौरवको विषय हुने धारणा व्यक्त गरिन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सन् २०३६ को ओलम्पिकका लागि भारतले बोली लगाउने बताइसकेको उल्लेख गर्दै उनले भारतले यसलाई हरित र दिगो बनाउन प्रयासरत रहेको बताइन्।
भारतले आफ्नो हालको पूर्वाधारलाई पुनः प्रयोग गरी स्टेडियमहरू र खेल सुविधाहरूको पुनःनिर्माण तथा सुधार गर्ने योजना बनाएको उनले जानकारी दिइन्। यदि भारतले ओलम्पिक आयोजना गर्ने अवसर प्राप्त गर्यो भने, यो अहिलेसम्मकै वातावरणमैत्री ओलम्पिक हुने विश्वास उनले व्यक्त गरिन्।
यसैगरी, भारतीय हस्तकला प्रवर्द्धन गर्ने ‘स्वदेश’ अभियानबारे जानकारी गराउँदै नीता अम्बानीले यसले देशभरका हस्तशिल्पीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने काम गरिरहेको बताइन्। भारतमा १ करोडभन्दा बढी हस्तकलाका कालिगढहरू रहेको उल्लेख गर्दै उनले स्वदेश परियोजनाले तिनीहरूको उत्पादनलाई विश्व बजारसम्म पुर्याउने लक्ष्य राखेको बताइन्।
उनले राजस्थानको नाथद्वारको यात्राका क्रममा त्यहाँका हस्तकला कालिगढसँगको भेटघाटबाट प्रेरणा लिई स्वदेश अभियान अघि बढाएको बताइन्। उनले चाँडै नै न्यूयोर्क र लन्डनमा स्वदेश स्टोर खोल्ने घोषणा गर्दै भारतीय हस्तकलालाई विश्वव्यापी बनाउने लक्ष्य राखिएको बताइन्।
उनले भारतीय संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको नीता मुकेश अम्बानी कल्चरल सेन्टर (एनएमएसीसी) को उद्देश्य भारतीय कलालाई विश्वसामु चिनाउने रहेको बताइन्। उनले विगतलाई कोट्याउँदै आफ्ना छोराछोरीहरूलाई ब्रडवे शो र सिड्नी ओपेरा हाउस जस्ता प्रतिष्ठित सांस्कृतिक केन्द्रहरूमा लिएर जाने गरेको बताउँदै भारतमा पनि यस्तै एउटा केन्द्र आवश्यक रहेको महसुस गरेको बताइन् । त्यही सोचका आधारमा एनएमएसीसीको परिकल्पना गरिएको बताउँदै उनले यसको उद्देश्य भारतको समृद्ध सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्नु रहेको प्रष्ट पारिन्।
नीता अम्बानीले एनएमएसीसीको लोकप्रियता उल्लेख गर्दै १८ महिनाभित्र २० लाखभन्दा बढी आगन्तुकहरूले यस केन्द्रको भ्रमण गरिसकेको जानकारी दिइन्। उनले भारतको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयासस्वरूप न्यूयोर्कको लिंकन सेन्टरमा ‘एनएमएसीसी वीकएन्ड’ आयोजना गर्ने घोषणा गरिन्। सोही अवसरमा ‘स्वदेश’ को विशेष फेसन शो पनि आयोजना गरिने जानकारी दिँदै उनले भारतीय कलालाई विश्वसामु अझ व्यापक रूपमा चिनाउने योजना रहेको बताइन्।
भारतको ओलम्पिक आयोजना गर्ने चाहना, हस्तकलालाई प्रवर्द्धन गर्ने ‘स्वदेश’ अभियान र एनएमएसीसी जस्ता परियोजनाहरू मार्फत नीता अम्बानीले भारतीय संस्कृति, कला, र खेलकुदको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिइरहेकी छिन्। उनका यी योजनाहरूले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।