नयाँ दिल्ली— भारतको अटोमोबाइल क्षेत्र पहिले नै विश्वकै तेस्रो ठूलो बजारका रूपमा परिचित छ। अब, विद्युतीय सवारी (ईभी) उद्योगमा तीव्र वृद्धि भइरहेको छ। सन् २०२२ मा ३ दशलमव २१ अर्ब अमेरिकी डलरको रहेको यो उद्योग २०२९ सम्म ११३ दशमलव ९९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जुन वार्षिक ६६ दशमलव ५२ प्रतिशतको वृद्धिदर हो।
भारतमा ईभी क्रान्ति केवल बिक्री वृद्धिसँग सीमित छैन । यसले लाखौं रोजगारी सिर्जना गर्दै हरित भविष्य निर्माण गर्न पनि मद्दत गरिरहेको छ। सन् २०३० सम्ममा यो उद्योगबाट ५० लाख प्रत्यक्ष र ३ करोड अप्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। यसले हरित रोजगारलाई प्रवर्द्धन गर्दै दिगो विकासलाई टेवा दिनेछ।
ईभी उद्योगमा प्रविधि—आधारित सेवा आवश्यक भएकाले नयाँ सीपयुक्त जनशक्तिको ठूलो माग छ। स्वचालित चार्जिङ पूर्वाधार, गाडी सुरक्षाका लागि डेटा विश्लेषण, क्लाउड कम्प्युटिङ, ब्याट्री व्यवस्थापन प्रणाली, र यूआई÷यूएक्स इन्जिनियरिङ जस्ता क्षेत्रमा उच्च दक्ष जनशक्ति आवश्यक पर्नेछ।
यस्तै, भारतको ईभी ब्याट्री बजार २०२३ मा १६ दशमलव ७७ अर्ब अमेरिकी डलरको रहेकोमा २०२८ सम्म २७ दशमलव ७० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ। ईभी उद्योगले अन्य सवारी इञ्जिन सवारी उद्योगभन्दा बढी रोजगारी सिर्जना गर्नेछ। यद्यपि, नयाँ रोजगारीहरू अत्यधिक सीपमा निर्भर हुनेछन्। हाल ईभी सम्बन्धी विशेष पाठ्यक्रमको अभाव भएकाले, भारतीय प्रविधि संस्थान दिल्ली, (मुम्बई, मद्रास तथा दिल्ली प्राविधिक विश्वविद्यालय जस्ता संस्थाहरूले ईभी प्रविधिमा स्नातकोत्तर एमटेक कोर्सहरू सुरु गरिसकेका छन्।
भारतको २०२५—२६ को बजेटमा लिथियम—आयन ब्याट्री उत्पादनका लागि ३५ प्रकारका मेशिनरीको भन्सार शुल्क कटौती गरिएको छ, जसले उत्पादन लागत घटाउन, निर्यात क्षमता बढाउन र स्वदेशी उत्पादन प्रवर्द्धन गर्न मद्दत गर्नेछ।
भारतको ईभी उद्योग द्रुत रूपमा अघि बढ्दै छ, जसले लाखौं रोजगारी सिर्जना गर्दै हरित अर्थतन्त्रलाई सशक्त बनाउँनेछ। सरकारको दृढ इच्छाशक्ति, प्रविधि—सक्षम जनशक्ति र विशाल बजारको सहयोगले भारतलाई विश्वको अग्रणी हरित रोजगारी उत्पादक देश बनाउने देखिन्छ।