माराकेच— भारत सरकारले सडक सुरक्षामा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेबापत ‘प्रिन्स माइकल डिकेड अफ एक्सन रोड सेफ्टी अवार्ड’ प्राप्त गरेको छ। पछिल्लो दस वर्षमा भारतले सवारी साधनको सुरक्षामा सुधार गर्दै नयाँ कार सुरक्षा मूल्यांकन प्रणाली लागू गर्नुका साथै सबै नयाँ दुईपांग्रे सवारी साधनमा एण्टी—लक ब्रेकिङ सिस्टम अनिवार्य गरेबापत यो सम्मान प्रदान गरिएको हो।
उक्त अवार्ड मोरोक्कोलाई पनि प्रदान गरिएको छ।
मोरोक्कोको माराकेचमा आयोजित चौथो मन्त्रीस्तरीय सडक सुरक्षा सम्मेलनमा विभिन्न देशका नेताहरू भेला भई सन् २०३० भित्र सडक दुर्घटनामा हुने मृत्युदर ५० प्रतिशत ले घटाउने रोडम्याप तयार पार्ने लक्ष्य राखेका थिए। सोही अवसरमा भारतका सडक यातायात तथा राजमार्ग राज्यमन्त्री अजय टम्टाले विश्व स्वास्थ्य संगठनका एटिन क्रुगबाट उक्त पुरस्कार ग्रहण गरे।
भारतले सन् २०१४ मा पहिलो स्वतन्त्र क्र्यास टेस्ट रेटिङ जारी गरेपछि, सडक यातायात तथा राजमार्ग मन्त्रालयले सवारी साधन सुरक्षा मापदण्डको नयाँ ढाँचा तयार पारेको थियो। सन् २०१८ मा भारतले सवारी साधनहरूलाई २०२३ भित्र युरोपियन सुरक्षा मापदण्डसँग तुलनायोग्य बनाउने लक्ष्यसहितको रोडम्याप सार्वजनिक गरेको थियो।
यद्यपि भारतले सडक सुरक्षामा ठूलो प्रगति गरे पनि, विकसित राष्ट्रहरूभन्दा फरक रूपमा सवारी साधनबाहिर मृत्यु हुने व्यक्तिहरूको उच्च सङ्ख्या अझै चुनौतीका रूपमा रहेको छ। सन् २०२३ मा मात्र भारतमा १ लाख ७३ हाजर मानिसले सडक दुर्घटनामा ज्यान गुमाएका छन्।