रियाद— सन् २०२५ को जनवरी १२ मा साउदी ग्याजेट ले साउदी अरबको मक्का सहरमा पाकिस्तानी आपराधिक गिरोहविरुद्ध ठूलो कारबाही भएको रिपोर्ट सार्वजनिक गर्यो । उक्त गिरोहमा १० पाकिस्तानी नागरिक पक्राउ परे। तिनीहरूबाट २ दशमलव ८ मिलियन साउदी रियाल बराबरको वित्तीय ठगीमा संलग्न रहेको आरोप लगाइएको छ।
गल्फ राष्ट्रहरूमा पाकिस्तानी नागरिकहरू चोरी, ठगी, लागूऔषध तस्करी, मानव तस्करी, वेश्यावृत्ति, मनी लन्डरिङ, र अनैतिक कारोबारमा संलग्न रहेको पुष्टि विभिन्न रिपोर्टहरूले गरेका छन्। साउदी प्रेस एजेन्सी अनुसार, मे २०२४ मा मक्का क्षेत्रमा मेथाम्फेटामाइन (आइस) र हेरोइन तस्करीमा संलग्न धेरै पाकिस्तानी पक्राउ परेका थिए।
पछिल्ला वर्षहरूमा गल्फ राष्ट्रहरूले पाकिस्तानी आप्रवासीहरूका कारण राजनैतिक र कानुनी चुनौतीहरू सामना गर्नुपरेको छ। फेब्रुअरी २०२४ को तथ्यांकअनुसार, २३,५०६ पाकिस्तानी नागरिक विदेशमा कैद छन्, जसमा ७५ प्रतिशत साउदी अरब र यूएईमा छन्। जस्टिस प्रोजेक्ट पाकिस्तानका अनुसार २०१०—२०२४ बीचमा १८८ पाकिस्तानी विदेशी भूमिमा मृत्युदण्ड दिइएको थियो, जसमा १७६ (९३ प्रतिशत) साउदी अरबमै फाँसी चढाइएका थिए।
यूएईले हाल पाकिस्तानी श्रमिकहरूमाथि कडा भिसा नीति लागू गरेको छ। डिसेम्बर २३, २०२४ मा, ब्युरो अफ इमिग्रेशन अफ ओभरसिज एम्प्लोइमेन्ट का प्रमुखले अब पाकिस्तानी नागरिकलाई यूएई यात्रा गर्न प्रहरी प्रमाणिकरण आवश्यक पर्ने घोषणा गरे।
जनवरी १०, २०२५ मा, फर्स्ट पोस्ट ले साउदी अरब, यूएई, चीन, र अन्य राष्ट्रहरूबाट २५८ पाकिस्तानी नागरिक देश निकाला गरिएका थिए। तिनीहरूमध्ये ९ जना व्यावसायिक भिखारी, ४ जना लागूऔषध मुद्दाका दोषी थिए।
गल्फ राष्ट्रहरूबाट आउने रेमिट्यान्स पाकिस्तानको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत हो। तर, पाकिस्तानी नागरिकहरूविरुद्धका कडा नीतिहरूले रेमिट्यान्समा गिरावट आउने, रोजगारीका अवसरहरू घट्ने, र पाकिस्तानको आर्थिक संकट झन् चर्किने देखिन्छ।
सरकारले अन्तर्राष्ट्रिय साझेदारी, कानुनी सुधार, र आप्रवासी व्यवस्थापनलाई सुदृढ गर्न आवश्यक छ। तर, हालको राजनीतिक अस्थिरता, सैन्य—समर्थित सरकारको कमजोरी, र व्यापक भ्रष्टाचारका कारण आवश्यक सुधार सम्भावना न्यून देखिन्छ। गल्फ क्षेत्रका रोजगारी अवसर पाकिस्तानी नागरिकका लागि क्रमशः खुम्चिदै जाने संकेत छ, जसले पाकिस्तानलाई गम्भीर आर्थिक संकटमा धकेल्ने सम्भावना रहेको छ ।