जेनेभा— संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख भोल्कर टर्क ले थाइल्यान्डमा ११ वर्षदेखि थुनामा रहेका ४० जना उइघुर जातीय व्यक्तिहरूलाई जबरजस्ती चीन फर्काइएको घटनाको कडा आलोचना गरेका छन्।
उनले यसलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको स्पष्ट उल्लङ्घन भएको बताएका छन्। टर्कका अनुसार यो कार्यले नोन् — रिफाउल्मन्ट सिद्धान्त को उल्लङ्घन गर्छ, जुन अनुसार कुनै पनि व्यक्तिलाई यातना, अमानवीय व्यवहार वा अन्य गम्भीर जोखिम हुने ठाउँमा जबरजस्ती फर्काउन नपाइने प्रावधान छ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार, उक्त उइघुर समूहलाई मार्च २०१४ देखि थाइल्यान्डका विभिन्न आप्रवासन केन्द्रहरूमा कठोर र अमानवीय अवस्थामा राखिएको थियो, जसका कारण पाँच जनाको हिरासतमा मृत्यु भइसकेको छ भने आठ जना अझै थुनामा रहेका अनुमान गरिएको छ। टर्कले चीन सरकारलाई तिनीहरूको अवस्था र स्थानबारे तत्काल जानकारी सार्वजनिक गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार व्यवहार सुनिश्चित गर्न आह्वान गरे।
उनले थाइल्यान्ड सरकारले आफ्नो अन्तर्राष्ट्रिय कानुनी दायित्व पूरा नगरेको भन्दै बाँकी उइघुर शरणार्थीहरूलाई पूर्ण सुरक्षा प्रदान गर्न आग्रह गरे। उनले भने, ‘थाइल्यान्ड सरकारले थुनामा रहेका सम्भावित शरणार्थी तथा शरण खोज्न चाहने व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय कानुनअनुसार पूर्ण सुरक्षा प्रदान गरोस्।
यस घटनालाई लिएर अमेरिकी सरकारले पनि कडा प्रतिक्रिया जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो ले उइघुरलाई सम्मानजनक व्यवहार गर्न र तिनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।