वासिङ्टन डीसी – अमेरिकी उपराष्ट्रपति जेडी भान्स र द्वितीय महिला उषा भान्स आगामी महिनामा भारत भ्रमण गर्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यम पोलिटिकोले जनाएको छ। स्रोतहरूलाई उद्धृत गर्दै पोलिटिकोले भान्सको यो दोस्रो अन्तर्राष्ट्रिय भ्रमण हुने उल्लेख गरेको छ।
गत महिना उनले फ्रान्स र जर्मनीको भ्रमण गरेका थिए। उषा भान्स भारतीय मूलकी हुन्, जसका अभिभावक भारतबाट अमेरिका बसाइँ सरेका थिए।
यो भ्रमण भारत र अमेरिकाबीच भन्सार शुल्कसम्बन्धी जटिल वार्ताहरू भइरहेका बेला हुन लागेको हो। केही दिनअघि ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेविटले विभिन्न देशहरूले अमेरिकामाथि लगाइरहेको भन्सार शुल्कको आलोचना गर्दै भारतले अमेरिकी मदिरा तथा कृषि उत्पादनहरूमा लगाएको करबारे असन्तोष व्यक्त गरेकी थिइन्।
उनले अमेरिकाका व्यवसायीहरू र कामदारहरूको हितलाई ध्यान दिने राष्ट्रपतिसँग अमेरिका रहेको दाबी गरिन्। ‘भारतले अमेरिकी मदिरामा १५० प्रतिशत भन्सार शुल्क लगाएको छ। कृषि उत्पादनमा पनि १०० प्रतिशत भन्सार शुल्क छ,’ लेविटले बताइन्।
गत हप्ता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको भन्सार शुल्कमाथि कडा आलोचना गर्दै ‘भारतलाई कुनै पनि सामान बेच्नु लगभग असम्भव भएको’ टिप्पणी गरेका थिए।
फेब्रुअरी महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिसमा आयोजित एआई शिखर सम्मेलनको अवसरमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनको परिवारसँग भेट गरेका थिए। सो अवसरमा भान्सको छोरा विवेकको जन्मदिन मनाइएको थियो।
प्रधानमन्त्री मोदीले उक्त भेटलाई विशेष अवसर भन्दै भान्स परिवारसँग राम्रो छलफल भएको बताएका थिए।