दक्षिण चीन सागरमा चीनको परमाणु रणनीतिः विश्वव्यापी द्वन्द्वको सम्भावना

 

मनिलाः दक्षिण चीन सागरमा विवादित क्षेत्रमा चीनले परमाणु हतियारसहितको रणनीति अवलम्बन गर्दै अमेरिकासँगको तनाव चर्काइरहेको छ, जसले विश्वव्यापी द्वन्द्व निम्त्याउने सम्भावना बढाएको छ। हालै, चीनले अमेरिकी टाइफुन मिसाइल प्रणालीको प्रतिरोध गर्न परमाणु जडित स्टेल्थ पनडुब्बी निर्माण गरिरहेको छ, जुन फिलिपिन्समा तैनाथ अमेरिकी क्षेप्यास्त्र प्रणालीलाई लक्षित गरिएको बताइन्छ।

यसैबीच, अमेरिका पनि चीनको सम्भावित आक्रमण रोक्न फिलिपिन्सको लुजोन टापुमा टाइफुन मिसाइल लन्चरहरू राखिरहेको छ । चीन र अमेरिकाबीचको यो तनाव दक्षिण चीन सागरलाई अर्को युद्ध क्षेत्र बनाउने खतरा देखिन्छ, जसले विश्वव्यापी रूपमा सुरक्षा चुनौती बढाउन सक्छ।

साउथ चाइना मर्निङ पोष्ट ले चिनियाँ अर्ध—आधिकारिक सैन्य पत्रिकामा प्रकाशित रिपोर्ट उद्धृत गर्दै चीनले वुहानस्थित शिपयार्डमा विशेष परमाणु जडित स्टेल्थ पनडुब्बी निर्माण गरिरहेको खुलासा गरेको छ। उक्त पनडुब्बी मुख्य रूपमा अमेरिकी टाइफुन मिसाइल प्रणालीलाई लक्ष्य गरेर बनाइँदैछ। पोष्टका अनुसार, चीनले निर्माण गरिरहेको यो पनडुब्बी परमाणु हाइपरसोनिक मिसाइल आक्रमण गर्न सक्षम छ, जसले फिलिपिन्सलाई गम्भीर सुरक्षा संकटमा पार्न सक्छ।

यो मिसाइल करिब १,५०० देखि २,००० किलोमिटरको दूरी सम्म प्रहार गर्न सक्षम छ, जसको गति म्याक १० रहेको छ। रिपोर्ट अनुसार, सन् २०२४ को मध्यमा पहिलो पटक देखिएको उक्त पनडुब्बीमा भर्टिकल लन्चिङ सिस्टम आकारको टेल फिन, र एयर—इन्डिपेन्डेन्ट प्रोपल्सन प्रविधि जडान गरिएको छ।

सन् २०२४ को नोभेम्बरमा, फिलिपिन्सका रक्षा मन्त्री गिल्बर्टो टोडोरो ले चीनलाई पश्चिम फिलिपिन्स सागरबाट बाहिरिन आग्रह गरेका थिए। तर, चीनले यसको साटो हाइनान प्रान्तबाट अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल परीक्षण गर्दै ११,५०० किलोमिटर टाढासम्म असर देखिएको थियो। जनवरी २०२५ मा, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर ले यदि चीनले दक्षिण चीन सागरमा आक्रमण रोकेमा, अमेरिकी टाइफुन मिसाइल प्रणाली हटाउन प्रस्ताव गरेका थिए। तर, चीनले यो प्रस्ताव अस्वीकार गर्दै फेब्रुअरी २०२५ मा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले फिलिपिन्समाथि आफ्नो दाबी कायमै राख्ने बताएका थिए।

फिलिपिन्ससँग हाल सर्फेस—टु—एयर मिसाइल प्रणाली छ, तर यो चीनका हाइपरसोनिक परमाणु हतियारहरूको सामना गर्न अक्षम छ। त्यसैले, फिलिपिन्स हाल अमेरिकी टाइफुन मिसाइल प्रणालीमा निर्भर छ, जसलाई थप उन्नत गर्न आवश्यक छ। सन् २०२४ को मे महिनामा, अमेरिका प्याट्रियट मिसाइल प्रणाली फिलिपिन्समा तैनाथ गरिसकेको छ, जुन हाइपरसोनिक मिसाइलहरूलाई रोक्न सक्षम मानिन्छ। तर, चीनको नवीनतम पनडुब्बीको विकासले दक्षिण चीन सागरमा चीनको नौसैनिक शक्ति झन् बलियो बनाउँदै लगेको छ।

चीनले सधैं अमेरिकी पनडुब्बीहरूलाई आफ्नो परमाणु—जडित पनडुब्बीहरूको लागि ठूलो खतरा मानेको छ। चीनको नयाँ पनडुब्बी रणनीति अमेरिकी सैन्य आधारहरू र विमानवाहक समूहहरूलाई लक्षित गर्दै बनाइएको छ ।

चीनको यो रणनीति ब्रुनेई, इण्डोनेसिया, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामका समुद्री दाबीहरूसँग ठोक्किन गएको छ। यसले अमेरिकी सामुद्रिक व्यापारका लागि पनि रणनीतिक चुनौती खडा गरेको छ। अब, अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि, दक्षिण चीन सागरको भूराजनीतिक स्थिति झन् तनावग्रस्त बनेको छ। चीन, अमेरिका, र फिलिपिन्सबीचको यो तनाव एक गलत निर्णय वा आणविक हतियारको प्रयोगले विश्व युद्धको सम्भावना बढाउन सक्छ।

प्रतिक्रिया दिनुहोस