लाहोर— पञ्जाब र सिन्धमा आउन लागेको पानीको अभावबारे गरिएको चेतावनीले सम्पूर्ण पाकिस्तानमा खतरा संकेत गरिरहेको छ। गहुँ र चिनी जस्ता मुलुकका प्रमुख खाद्य बालिहरू जोखिममा परेपछि यो संकट केवल पानी अभावको समस्या मात्र नभएर खाद्य सुरक्षामा खतरा, आर्थिक अस्थिरता, र कृषि क्षेत्रमा आश्रित करोडौँ मानिसको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित छ।
कृषि प्रधान अर्थतन्त्र भएका कारण पाकिस्तानले यो चुनौतीलाई नजरअन्दाज गर्न सक्दैन। जलवायु परिवर्तनका कारण पाकिस्तान पहिल्यै उच्च जोखिममा रहेको देश हो, र पानीको अभाव, अव्यवस्थित पानी व्यवस्थापन तथा चरम मौसमी परिवर्तनले खाद्य संकटलाई अझ गहिरो बनाइरहेको छ। तर, यति गम्भीर संकटको बाबजुद पनि नीति निर्माताहरूबाट तत्कालीन कदम उठाइने संकेत देखिँदैन। यति ठूलो स्तरको पानी संकटलाई केवल घोषणाहरू र औपचारिक प्रतिवेदनले समाधान गर्न सकिँदैन, तत्काल प्रभावकारी कार्यान्वयन आवश्यक छ।
यो झन् निराशाजनक कुरा हो कि पाकिस्तानसँग पानी संरक्षण, दिगो कृषि, र जलवायु सहनशीलता प्रवर्द्धन गर्ने विज्ञहरू प्रशस्त छन्। तर, तिनीहरूको अनुसन्धान र सुझावलाई बेवास्ता गरिँदैछ, जबकि संकट दिनप्रतिदिन गहिरिँदैछ। संस्थागत समर्थनको कमी र समन्वित राष्ट्रिय रणनीताका अभावले समस्यालाई झन् जटिल बनाइरहेको छ। यसकारण, राजनीतिक मतभेदलाई थाती राखेर वैज्ञानिक अनुसन्धानमा आधारित नीति निर्माणलाई प्राथमिकता दिनु अत्यावश्यक छ।
जलवायु संकट पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि चुनौती बनेको छ। विशेष गरी, विश्वका दक्षिणी देशहरूले जल संकट समाधानका लागि स्वदेशी प्रविधि र नवीन उपायहरू अपनाइरहेका छन्। पानी बचत गर्ने आधुनिक कृषि प्रविधिदेखि लिएर ठूला संरक्षण परियोजनासम्म धेरै कुराबाट पाकिस्तानले सिक्न र कार्यान्वयन गर्न सक्छ। तर, अन्तर्राष्ट्रिय ज्ञान आदान—प्रदानका यी अवसरहरू पाकिस्तानले समेट्न नसक्दा समस्या झन् गहिरिएको छ।
खतरा स्पष्ट देखिइसकेको छ—यदि पाकिस्तानले अहिले नै प्रभावकारी कदम नचाले, परिणाम विनाशकारी हुनेछ।