बेइजिङ— चिनियाँ अधिकारीहरू युवाहरूको शारीरिक स्वास्थ्य र शैक्षिक प्रदर्शनमा पर्ने नकारात्मक प्रभावलाई कारण देखाउँदै सामाजिक सञ्जाल र स्क्रिन समय सीमित गर्ने योजनामा छन्। भ्वाइस अफ अमेरिकाको रिपोर्टअनुसार, केही युवाहरूले इन्टरनेटमा अत्यधिक समय बिताउने कुरा स्वीकार गरे पनि नयाँ प्रस्तावहरूप्रति धेरै नै आशंकित छन्।
चिनियाँ वार्षिक राजनीतिक बैठकमा अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी याओ मिङले युवाहरूका लागि इन्टरनेट पहुँचमा केही सीमा लगाउनुपर्ने सुझाव दिएका थिए। उनले प्रत्येक शैक्षिक सत्रमा एक दिन पूर्ण रूपमा विद्युतीय उपकरणहरू बन्द गरी विद्यार्थीहरूलाई बाहिर निस्केर व्यायाम गर्नुपर्ने योजना अघि सारे।
अधिकारीहरूले अनलाइन गेमिङलाई थप नियन्त्रण गर्ने प्रस्ताव राख्दै इन्टरनेटको अत्यधिक प्रयोगले १८ वर्ष मुनिका बालबालिकाको शारीरिक स्वास्थ्य र शैक्षिक प्रदर्शनमा गम्भीर असर पारिरहेको बताएका छन्।
चीनमा पहिल्यै विश्वकै कडा इन्टरनेट नियन्त्रणहरू लागू छन्। हजारौँ वेबसाइट, विदेशी सामाजिक सञ्जाल प्लेटफर्म र सामग्रीहरू ब्लक गरिएका छन्। यति हुँदा पनि चीनमा इन्टरनेट प्रयोगकर्ता संख्या विशाल छ।
चिनियाँ सामाजिक सञ्जालमा केहीले सरकारले उठाएका कदमको समर्थन गरे पनि धेरैले नीति निर्माणमा देखिएको विरोधाभासप्रति असन्तोष व्यक्त गरेका छन्। एक प्रयोगकर्ताले विद्यालयहरूले गृहकार्यमा अनलाइन स्रोतको आवश्यकता घटाउनुपर्ने बताएका छन् ।
बेइजिङकी एक कलेज विद्यार्थीका अनुसार, इन्टरनेटको लत अत्यधिक गहिरिएको छ। चिनियाँ युवाहरू इन्टरनेटमा पूर्ण रूपमा आश्रित छन्। हरेक ठाउँमा फोन हेर्दै हिँड्ने मानिसहरू देख्न सकिन्छ। इन्टरनेटबिना हामी केही गर्न सक्दैनौँ, उनले भनिन्।
२०२४ को ‘चाइना गेम इन्डस्ट्री माइनर प्रोटेक्सन रिपोर्ट’ अनुसार, डिसेम्बर २०२३ सम्म चीनमा १८ वर्ष मुनिका इन्टरनेट प्रयोगकर्ताहरूको संख्या १९६ मिलियन पुगेको छ, जसमा ९७ दशमलव ३ प्रतिशतले इन्टरनेट पहुँच प्राप्त गरिसकेका छन्।
अमेरिकामा अध्ययन गरिरहेका विल वाङका अनुसार, चीनमा सबै उमेरका मानिसहरूको स्क्रिन र इन्टरनेट प्रयोग उल्लेखनीय रूपमा बढेको छ।
हङकङका मिडिया विश्लेषक जू क्वानका अनुसार, इन्टरनेट किशोरहरूको मानसिक स्वास्थ्यका लागि पनि सहयोगी हुन सक्छ। ‘अनलाइन माध्यमले उनीहरूलाई शैक्षिक र पारिवारिक दबाबलाई व्यवस्थापन गर्न सघाउँछ। यदि इन्टरनेट हटाइयो भने, उनीहरूको मानसिक स्वास्थ्यमा झन् नकारात्मक असर पर्नेछ,’ उनले बताए।
चीनले सन् २०२० मा ‘नाबालिग संरक्षण कानून’ संशोधन गरी अनलाइन गेमिङ र लाइभ स्ट्रिमिङ प्लेटफर्महरूमा सीमितता लगाएको थियो। २०२१ मा ल्याइएको नयाँ नियमअनुसार, १८ वर्ष मुनिका बालबालिकाहरूलाई राति १० बजे देखि बिहान ८ बजेसम्म गेमिङ प्रतिबन्ध लगाइयो। साप्ताहिक रूपमा वर्कडेजमा १ घण्टा मात्र र सप्ताहन्तमा २ घण्टा गेमिङ गर्न अनुमति दिइयो।
तर, यी नियमहरू वयस्क खाताहरू प्रयोग गरेर सजिलै छल्न सकिन्छ।
चिनियाँ मिडिया उद्योगका पूर्वकर्मी आ क्याङका अनुसार, हालैको राजनीतिक बैठकहरूमा उठाइएका प्रस्तावहरू केवल छलफलका लागि मात्र हुन् र तिनीहरू नीति परिवर्तनमा परिणत हुने सम्भावना न्यून छ। उनले भने, ‘समस्या इन्टरनेट स्वतन्त्रताको होइन, जीवनको अन्य क्षेत्रमा पर्याप्त स्वतन्त्रता नहुनु हो।’
यसकारण, विशेषज्ञहरू इन्टरनेट नियन्त्रण भन्दा विद्यार्थीहरूको शैक्षिक दबाब कम गर्ने, बाहिरी गतिविधि बढाउने र सन्तुलित डिजिटल नीतिहरू अवलम्बन गर्ने दिशामा ध्यान दिनुपर्ने सुझाव दिन्छन्।