डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ ।
डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ ।
कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ ।
खासगरी डिप्रेसनका रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ । त्यसैले समयमै नजिकको मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु राम्रो हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्दछन ।
के हो डिप्रेसन ?
डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ ।
सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् ।
क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ ।
डिप्रेसनका कारणहरू
१. वंशाणुगत
२.जीवनका तनावपूर्ण घटनाहरू जस्तै प्रीयजनको मृत्यु, वियोग आदि ।
३. केही औषधीहरू खास गरी रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ ।
४. लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।
डिप्रेसनका लक्षणहरू
१. मन उदास वा दिक्क भइरहने, कुनैपनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने ।
२. खुसीहुनुपर्ने कुरामा पनि खुसीहुन नसक्ने हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने ।
३. निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने ।
४. भविश्यप्रति नैराश्यता छाउने, बाँच्नु बेकार छ भनेर मर्ने इच्छा पलाउने तथा आत्महत्याको विचार आउने ।
६. टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूको मासिकस्राव अनियमित हुने जस्ता लक्षण देखा पर्छन ।
७. केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन ।
८. धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ ।
डिप्रेसनका मनोवैज्ञानिक लक्षण
१. निरन्तर चिन्ता लिनु
२. स्वास्थ्यको विषयमा चिन्तित रहनु
३. नकारात्मक विचार मनमा आउनु
४. भ्रामक विचार मनमा आउनु
५. काममा मन नलाग्नु
६. स्वभाव चिडचिडा हुनु
७. सानोतिनो कुरामा रिस उठ्नु
८. मनस्थितिमा परिवर्तन
९. पागल जस्तो व्यवहार गर्नु
१०. एक्लै बस्न मन पराउनु
११. नराम्रो सपना देख्नु
१२. कहिल्यै खुशी हुन नसक्नु
१३. कम बोल्नु
१४. डर लाग्नु
डिप्रेसनका शारीरिक लक्षण
१. टाउको दुख्नु
२. मुटु काँप्नु
३. खाना निल्नमा समस्या
४. उल्टी आउनु
५. बारम्बार बाथरुम जानु
६. शरीर पहेँलो हुनु
७. श्वास प्रश्वास छोटो हुनु
८. रिंगटा लाग्नु
९. मांसपेशीमा दुखाई
१०. मुटुको धड्कन बढ्नु
११. शरीर काँप्नु
१२. पसीना आउनु
१३. ब्लड प्रेसर घटबढ हुनु
१४ थकावट हुनु

डिप्रेसनको पहिचान गर्ने तरिकाहरू
सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ । तर केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँच पनि गर्न सकिन्छ ।
डिप्रेसनका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू
१. चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।
२. जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन ।
३. सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ ।
४. आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।
५. औषधि सेवन गर्दा गर्दै पहिलेको भन्दा फरक लक्षण देखापरेमा वा डाबर आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।
६. कसरत गरेमा राम्रो महशुस हुन्छ ।
७. सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई तनाब हुनेगरी काम गर्नु हुदैन ।
८. डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।
९. औषधि सेवन गर्दा गर्दै कुनै शारीरिक रोग लागेमा, जचाउनु परेमा आफूले खाइरहेको औषधिको बिवरण सम्बन्धित चिकित्सकलाई बताउनु पर्छ ।
परिवार र साथीभाइको भूमिका
१.आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुनेसमस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।
२. डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनुहोस, उनीहरूसँग गफ गर्नुहोस् र उनीहरूलाई हौसला प्रदान गर्नुहोस ।
३. उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल गर्नुहोस् र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्नुहोस् ।
४. उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिनुहोस । यो कुरा चिकित्सकलाई बताउनुहोस तथा बिरामीलाई कडा निगरानीमा राख्नुहोस् ।
५. बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्नुहोस् ।
६ चिकित्सकले लेखेबमाजिमको औषधि बिरामीले खाएको छ की छैन भनेर हेर्नुहोस् । यदि खाएको रहेनछ भने उसलाई आफनो निगरानीमा खुवाउनुहोस् ।
डिप्रेसन नहोस् भन्न च्याउ
हालैको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्छ । बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’मा प्रकाशित छ ।
सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुन: सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ । अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन (एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ) बाट गरे ।
अनुसन्धानमा ती बिरामी सामेल थिए जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भवभएको थिएन । अनुसन्धानअनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।
चिनीले यसरि बढाउछ डिप्रेसनको खतरा
धेरै चिनी मिसाइएको पेय पदार्थ, केक र मिठाई खाने मानिस बढी डिप्रेसनको शिकार भन्ने, एक नयाँ अध्ययनअनुसार गरिएको छ । चिनीको अधिक प्रयोग र डिप्रेसनबीच बलियो सम्बन्ध भएको पाए । अध्ययनमा समावेश सबैभन्दा बढी चिनी सेवन गर्ने अर्थात् एक दिनमा ६७ ग्रामभन्दा बढी चिनी उपभोग गर्ने मानिसमा सामान्य मानसिक समस्या हुने सम्भावना दैनिक ३९.५ ग्राम उपभोग गर्नेको भन्दा २३ प्रतिशत बढी छ ।
युनिभर्सिटी कलेज अफ लन्डनका अनुसन्धानकर्ताले सन् १९८० को दशकमा भएको ह्वाइट हल सेकेन्ड स्टडीका लागि छानिएका पाँच हजार पुरुष र दुई हजार महिलाको खानामा प्रयोग गरिएको चिनी र उनीहरूको मानसिक स्वास्थ्य समस्यालाई दाँजेर हेरेका थिए ।
उनीहरूले चिनीको अधिक प्रयोग र डिप्रेसनबीच बलियो सम्बन्ध भएको पाए । अध्ययनमा समावेश सबैभन्दा बढी चिनी सेवन गर्ने अर्थात् एक दिनमा ६७ ग्रामभन्दा बढी चिनी उपभोग गर्ने मानिसमा सामान्य मानसिक समस्या हुने सम्भावना दैनिक ३९.५ ग्राम उपभोग गर्नेको भन्दा २३ प्रतिशत बढी छ । डिप्रेसनका कारण मानिसले धेरै चिनीयुक्त खानेकुरा सेवन गर्छन् कि भनेर अनुसन्धानकर्ताले अनुमान गरेका थिए, तर त्यस्तो नभएको पत्ता लाग्यो ।