धर्तिबाट स्वर्ग जाने ठाँउ मानिने स्वर्गद्वारी मन्दिर कसरी पुग्न सकिन्छ,

स्वर्गद्वारी गएपछि मनै फुरुंग हुन्छ। मनले शान्तिको अनुभव गर्छ। शान्त र सुन्दर वातावरण, शीतल मौसम, आँखैमा ठोक्किने हिमशृंखला, गुफा, मन्दिरले मन तानिरहन्छ। स्वर्गद्वारी जाने भनेपछि जो–कोही हुरुक्क हुन्छन्। स्वदेशी हुन् वा विदेशी, स्वर्गद्वारीले दिनहुँ नयाँ पाहुना भेट्टाइरहन्छ।

एकपटक पुगेपछि फेरि जाउँ–जाउँ लाग्ने, पुगेर उतै बसिरहुँ जस्तो लाग्ने स्वर्गद्वारी पुग्नेहरू स्वर्गीय आनन्द लिन्छन्। यहाँ पुगेर फर्कनेहरू भन्छन्– ‘स्वर्गद्वारी स्वर्गको द्वार जस्तै छ।’ स्वर्गद्वारी मन्दिर पहाडको टाकुरामा वरिपरि जंगलको थुम्कोमा मुख्य मन्दिर छ। यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भनिन्छ।

नाम सुन्नेहरूलाई लाग्छ– एकपटक पुग्नैपर्छ। स्वर्गद्वारीलाई पहिल्यै स्वर्गको लेक भनेर पनि चिन्ने गरिन्थ्यो। स्वर्गद्वारी समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा छ। बिहानीपख धौलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृंखलाहरू यहाँबाट स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ।

नेपालका सात धाममध्ये एक हो स्वर्गद्वारी। जहाँ सयौं वर्षदेखि वैदिक संस्कार बाँचिरहेको छ।पशुपतिनाथबाट शुरू हुने धार्मिक यात्राको अन्तिम बिन्दुका रूपमा स्वर्गद्वारीलाई लिइन्छ। हिन्दू धर्मावलम्बीमा विश्वास छ, सात धामको दर्शनपछि स्वर्ग पुगिन्छ। धर्मलाई नै विश्वास गर्ने हो भने प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारी नपुगेसम्म हिन्दूको तीर्थयात्रा नै पूरा हुँदैन।

त्यसैले हरेक वर्ष लाखांै तीर्थयात्री स्वर्गद्वारी पुग्छन्। जसले लाखांैलाई स्वर्ग तारेको छ। स्वर्गद्वारीले प्यूठानको परिचय दिएको छ। स्वर्गद्वारी नगरपालिका–१ स्थित खालमा स्वर्गद्वारी आश्रम छ। हिन्दू धर्मावलम्बीले गर्ने सबै खालका पूजा स्वर्गद्वारीमा हुने भएकाले पनि पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीको विशेष महत्व छ।

नेपाल जस्तै भारतमा पनि यसको उत्तिकै महत्व छ। भारतबाट पनि वर्षेनी ठूलो संख्यामा यहाँ धार्मिक पर्यटक भित्रन्छन्। मन्दिरमा पुगेर पूजाअर्चना गरेपछि स्वर्ग पुगेजस्तै अनुभूति हुने भएकाले नै आकर्षण दिनानुदिन बढ्दै गएको मन्दिर दर्शन गर्न आउनेहरू बताउँछन्।

‘स्वर्गद्वारीमा पर्यटकको संख्या बढ्दो छ’, आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले भन्नुभयो– भारतीय पर्यटकले चढाएको भेटी यहाँको प्रमुख आम्दानीको स्रोत हो।’

आश्रम व्यवस्थापन समितिका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली पर्यटक स्वर्गद्वारी दर्शनका लागि आउँछन्। आन्तरिक र बाह्य गरी वर्षेनी करिब ३ लाख पर्यटक स्वर्गद्वारी घुमफिर गरी फर्कने गरेको आश्रम व्यवस्थापन समितिले बताएको छ।

के–के छ स्वर्गद्वारीमा ?स्वर्गद्वारी प्रवेश मूलद्वारमा स्वर्गद्वारी आश्रम अनि त्यसै द्वारको दायाँतर्फको भित्तामा श्री १०८ महाप्रभुले रचना गरेको श्लोक आश्रममा पालना गर्नुपर्ने सर्त वा नियम उल्लेख गरिएको छ। यहाँ प्रभु गुफाअर्थात् महाप्रभुको समाधि भव्यरूपले बनाइएको छ।

यसैमाथि शिवलिंग स्थापना गरिएको छ। उत्तर मूलढोकामा भएको सो मन्दिरअगाडि महाराज श्री १०८ नर्मदानन्दको सक्रियतामा लघुरुद्री, वेदपाठ गर्न धमशालाको निर्माण गरिएको छ। यस क्षेत्रमा यज्ञशालाको माझमा ठूलो हवनकुण्ड रहेको छ।

त्यहाँको आगो महाप्रभुले आफ्नो मन्त्रको प्रभावमा प्रज्ज्वलित गर्नुभएको भन्ने विश्वास रहेको छ। विशेष गरेर यहाँ सामूहिकरूपमा पुजारीहरूले एकसाथ वेदोच्चारणका साथै पूजाआरधाना र यज्ञ गर्न गर्छन्।वेद मन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीकोे प्रमुख आकर्षण हो।

१९५२ सालदेखि उक्त यज्ञक ुण्डअहिलेसम्म पनि निरन्तर बलिरहेको छ। स्वर्गद्वारी महाप्रभुले पूजा सामग्री फेला पारी आश्रम निर्माण गरेको इतिहास छ। उक्त पूजा सामग्री पाँच पाण्डवले यज्ञ गर्दाको हो भन्ने किंवदन्ती छ। विशेषतः वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्तिलगायत पर्वमा यहाँ ठूलो मेला लाग्छ।

अन्य समयमा पनि दैनिक पूजापाठ र मेला भइरहेका हुन्छन्।ऐतिहासिक एवं मनोरम तलाउ, पाँच पाण्डव, स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गरेको गुफा, १९५२ सालदेखि अनवरत सञ्चालित वेद पाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका सयौं गाई, विभिन्न आकृतिका मठ–मन्दिर, आश्रम यज्ञशालाको दक्षिण भू–भागमा अवस्थित ठूलो बाँझको वृक्ष नै धर्मावलम्बीका लागि मुख्य आकर्षण हुन्।

प्रतिक्रिया दिनुहोस