यस वर्ष साउनमा नयाँ व्रत बस्नेहरुका लागि अत्यन्तै शुभ….

ज्यो. सुरेश चन्द्र रिजाल काठमाडौं। श्रावण १ गते बिहिवार तथा कृतिका नक्षत्रबाट महिना प्रारम्भ भएको छ । यसैदिन कामिनी एकादशी व्रत समेत परेको छ ।हिन्दूहरुको लागि श्रावण महिना विशेषगरी शाकाहारी भएर महिनाभरी आराध्यदेव भगवान् महादेवको पूजा तथा बोलबम जाने परम्परा सदीयौंदेखि चलिआएको छ । यसै दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धमा प्रवेश गर्नेछन् । साउन १ गतेबाट विस्तारै दिन छोटो र रात लामो हुँदै जाने छन् ।

खगोल शास्त्रमा कर्कट र मकर सङ्क्रान्तिको विशेष महत्व रहने गरेको छ। श्रावण महिना शिवको प्रिय महिना भएकाले विशेष रुपमा पूजा, आरधना, उपासना तथा व्रत वस्नका लागि अत्यन्तै शुभ हुने र समस्त मनोरथ पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ ।“अपुत्रोलभते पुत्र निर्धनोधनवान् भवेत् अविद्धाया लभते विद्या यदिधर्म विदोविदु’, अर्थात नियमपूर्वक यदि कुनै पनि पुरुष तथा महिलाले श्रावणी सोमबारको व्रत बसेमा सन्तान नहुनेहरुका लागि सन्तान प्राप्ति हुनेछ, यदी धन सम्पत्तिमा रुकावट या अवरोध भएको छ भने बाधा अर्चन हट्ने छन्।

विद्यार्थीहरुलाई विद्यामा अ’वरोध छ भने पनि व्रतका प्रभावले विद्यामा प्रगति हुने शास्त्रमा उल्लेख गरिएको छ । यस महिनामा दुईवटा शनि प्रदोष व्रत, सोमबारे औंशी, नाग पञ्चमी, रवि सप्तमी व्रत, श्रीकृष्ण जन्माष्टमी तथा जनै पूर्मिमा व्रत परेकाले पनि विशेष महत्व रहने गरेको उल्लेख गरिएको छ।बिहीवारबाट प्रारम्भ हुने श्रावण महिनामा चार ओटा सोमबार परेको छ । ५ गते सोमबारे औंसीबाट सोमबार प्रारम्भ भएको छ । नयाँ व्रत वस्न चाहनेहरुका लागि यो समय अति उत्तम रहेको छ ।

आगामी असोजमा मलमास परेकाले महत्त्वपूर्ण चाडपर्व श्रावण महिनामै परेकाले यस वर्षको श्रावण महिना र सोमबारको विशेष महत्त्व रहेको शास्त्रमा उल्लेख गरिएको छ।१२ गते सोमबार गोस्वामीतुलसिदास जयन्ती परेको छ, त्यस्तै १९ गते सोमबारका दिन पूर्णिमा व्रत तथा रक्षा बन्धन पर्व परेकाले पनि उत्तम भनेर भनिएको छ ।

साउन २६ गते अन्तिम सोमबार र भोलिपल्ट श्रीकृष्ण जन्माष्टमी पर्व परेकाले यस वर्षको श्रावण महिना विशेष महत्त्व तथा लामो समयपछि मात्रै यस्तो संयोग पर्ने उल्लेख गरिएको छ । बिहीवार १ गते देखि नै देब गुरु बृहस्पतिले राशि परिवर्तन गर्दै आफ्नै राशि धनुमा आउन लागेकाले पनि विशेष महत्वका साथ हेरिएको छ।वर्षा ऋतु प्रारम्भ तथा शिवजीलाई हरियो र जल प्रिय हुने भएकाले पनि हातमा मेहन्दी लगाएर वस्ने पनि प्रचलन रहिआएको छ । हरियो चुरा तथा वस्त्र लगाएर शिवको पुजा गरेमा छिट्टै मनोकामना पूर्णहुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस