दक्षिणको दादागिरी तोडियो : हुलाकी सडक निर्माणमा भारतीय अवरोध चिरेर काम थालियो

कञ्चनपुर, ५ साउन । गत २१ असार फिल्मी शैलीमा तामझाम र फौज ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले कञ्चनपुरको बेलौरीमा निर्माण भईरहेको हुलाकी सडकको काम अवरोध गरेर फर्किएका थिए । दर्जनौँ लावा लस्कर सहित आएका भारतीय सुरक्षा फौजले अवरोध गरेको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको काम नगर्न दवाव दिएर फर्किएका थिए ।पश्चिम कञ्चनपुरदेखि पूर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको तेस्रो दिनदेखि पुनः काम सञ्चालनमा आएको छ । यस पटक भारतीय पक्षले अवरोध गरेपनि नेपाल पक्षले तीन दिनमै निर्माण कार्य अगाडि बढाएको हो । हुलाकी सडक निर्माण कम्पनी बाबाहंस सिद्धिका ठेकेदार तुल चन्द्र बोहराले निर्माण कार्य गरिरहदा भारतीय पक्षले रोकेपनि ३ दिनमै काम पुनः शुरु गरेको बताउनु भयो ।‘भारतबाट आएका सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारीले काम रोक्नुहोस् पछि छलफल गरौँला भनेर फर्किएता पनि, नेपालका तर्फबाट सशस्त्र प्रहरीका अधिकारी, नगर प्रमुख पोतिलाल चौधरी, पूर्व माननीय सांसद दिवान सिंह बिष्ट , नेकपाका नेता पल्लव राज भट्ट , काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्ट, समाजसेवी एवम् बुद्धिजीवी विवेक लम्साल लगायत स्थानीय सबैको पहल र समन्वयमा काम अगाडि बढाएको निमार्ण कम्पनीका ठेकेदार बोहराले बताउनुभयो ।

कालोपत्रेका लागि बेस बिछ्याउने क्रममा भारतीय पक्षबाट अवरोध भएको स्थानदेखि करिब २ किलोमिटर परसम्म बेस बिछ्याईएको उहाँको भनाइ छ । ‘काम शुरु भईसकेको छ, ‘उहाँले भन्नुभयो ‘बिना कारण रोकटोक गरियो ।’ भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ । गत बर्ष ग्राभेलिङ्ग गर्दा भारतीय पक्षले अवरोध गरेको थियो । रिफेन्स पिलर क्षेत्रको पूर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको छ ।

भारतीय पक्षले जीपीएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दावी गर्दै बेलाबेला काममा अवरोध गर्दै आएको बेलौरी नगरपालिका ८ का अध्यक्ष नन्द कुमार रानाले बताउनु भयो । स्ट्रिप नक्सामा नै समस्या देखिएकाले यस्तो विवाद हुन गएको जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस