पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर

 

इस्लामाबाद— पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले देशभर २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको जानकारी गराउँदै मुस्लिम राष्ट्रहरूले बालिका शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनः चुनौती र अवसर’ मा बोल्दै शरीफले बालिकाहरूको लागि शिक्षामा समान पहुँच प्रदान गर्न मुस्लिम विश्वले सामना गर्ने महत्वपूर्ण अवरोधहरूलाई स्वीकार गर्नुपर्नेमा जोड दिएको पाकिस्तानी अग्रेजी दैनिक डनले सरकारी मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

प्रधानमन्त्री शेहबाजले आगामी दशकमा लाखौं युवतीहरू देशको प्रमुख जनशक्ति हुने कुरामा जोड दिँदै आफू र आफ्नो परिवारलाई गरिबीबाट उकास्ने मात्र नभई विश्वव्यापी अर्थतन्त्रमा पनि योगदान पुर्‍याउने उनीहरूको क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिएका छन्।

महिलाहरूले पाकिस्तानको जनसंख्याको आधाभन्दा बढी प्रतिनिधित्व गर्छन् । यद्यपी, पाकिस्तानमा महिला साक्षरता दर केवल ४९ प्रतिशत छ।

बालिकाहरूलाई शिक्षा दिन अस्वीकार गर्नु भनेको उनीहरूको आवाज र छनोटलाई अस्वीकार गर्नु बराबर हो र उनीहरूलाई उज्ज्वल भविष्यको अधिकारबाट वञ्चित गर्नु हो’, शेहबाजले भने।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई सहित मुस्लिम बहुल देशका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरू उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस