ताइवानमाथि अतिक्रमण गर्ने चीनको तयारी, यी हुन् पाँच संकेत

 

लन्डनः अमेरिकामा नयाँ राष्ट्रपति तथा ताइवानमा चीनको बढ्दो आक्रामकतासँगै, चीनले ताइवानमाथि अतिक्रमणको योजना तीव्र गतिमा अघि बढाइरहेको आशङ्का बढेको छ। ताइवानलाई चीनले विद्रोही प्रान्तका रूपमा हेर्ने गरेको छ।

ताइवान र मत्सु टापुहरू जोड्ने पानीमुनि रहेका केबलहरू क्षतिग्रस्त भएको समाचारले खतरा बढाएको छ। ताइवानका अधिकारीहरूले यो घटना प्राकृतिक कारणले हुन सक्ने बताएका छन्। यद्यपि यस महिनाको सुरुमा चिनियाँ स्वामित्वको एउटा जहाजले उत्तरपूर्वी ताइवान नजिक पानीमुनि रहेको इन्टरनेट केबलमा क्षति पुर्‍याएको पुष्टि भइसकेको छ। उता, चीनका लडाकु विमान र युद्धपोतहरूले ताइवान वरिपरि लगातार घेराबन्दी गरिरहेका छन्।

अमेरिकी गुप्तचर सूचनाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई २०२७ सम्ममा अतिक्रमण लागि तयारी गर्न निर्देशन दिएका छन्। माओत्सेतुङपछिका सबैभन्दा शक्तिशाली चिनियाँ नेताका रूपमा चिनिएका सी जिनपिङले ताइवानलाई पुनः कब्जा गर्नु आफ्नो राजनीतिक उद्देश्यको हिस्सा ठानेका छन्। धेरै विशेषज्ञहरूका यो “कहिले” भन्ने मात्र प्रश्न हो, “के यो हुनेछ” भन्ने प्रश्न नरहेको बताएका छन् ।

पाँच संकेतहरू
१. ग्रे—जोन युद्ध
२०२४ मा चीनले ३,००० भन्दा बढी पटक ताइवानको हवाई सुरक्षामा प्रवेश गरेको थियो। यसलाई “ग्रे—जोन” युद्ध भनिन्छ, जसले खुला युद्ध बिना नै शत्रुलाई कमजोर पार्छ। यसले ताइवानलाई आतंकित बनाउनका साथै चिनियाँ सेनालाई सम्भावित आक्रमणको लागि तयार हुन मद्दत पुर्‍याएको छ। यो रणनीतिले ताइवानका स्रोतहरू क्षीण गरिसकेको र मानसिक रूपमा कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ।

२. जबर्जस्ती रणनीति
चीनले दैनिकजसो हवाई गतिविधि गर्नुका साथै बलून, ड्रोन, र नागरिक डुङ्गाहरू प्रयोग गर्दै ताइवानमाथि दबाब बढाइरहेको छ। आक्रमणअघि चीनले घेराबन्दी, साइबर आक्रमण र नाकाबन्दीको रणनीति अपनाउने संभावना विशेषज्ञहरूले व्यक्त गरेका छन्।

३. हतियारको ढिलाइ
ताइवानले अमेरिकी हतियार प्रणालीहरू समयमै एकीकृत गर्न नसक्दा चीनले फाइदा उठाउने डर बढेको छ। हालै मात्र ताइवानले ४०० वटा हर्पुन एन्टि—शिप प्रणालीको अर्डर दिएको छ, जसको आपूर्ति २०२८ मा हुने अपेक्षा गरिएको छ। तर, यस्ता प्रणाली सञ्चालनका लागि आधारभूत संरचना र जनशक्तिको अभाव रहेको छ।

४. प्रचार र गलत सूचना
ताइवानमाथि दबाब बढाउन चीनले प्रचार र गलत सूचनाको हतियार प्रयोग गरिरहेको छ। २०२३ मा १३ लाखभन्दा बढी गलत सूचना फैलाएको चीनले २०२४ मा यो संख्या बढाएर २१ लाखभन्दा बढी पुर्‍याएको छ।

५. कूटनीतिक दबाब
विशेषज्ञहरूका अनुसार सी जिनपिङले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर देखेर दबाब बढाइरहेका छन्। ट्रम्पको प्रशासनको अस्पष्टता र अल्पकालीन सोचको फाइदा उठाउँदै, सीले ताइवानमाथि सैन्य आक्रमणको दबाब बढाइरहेका छन्।

यद्यपि, केही विशेषज्ञहरू चीनले निकट भविष्यमा अतिक्रमण नगर्ने ठान्छन्। एसओएएस चाइना इन्स्टिच्युटका निर्देशक स्टीभ सांगका अनुसार, “ताइवानमाथि अतिक्रमण अहिलेको लागि जोखिमपूर्ण छ, किनकि चिनियाँ सेना पूर्ण तयारीमा छैन।”

यसबाहेक, ताइवानका उच्च—प्रविधि चिप उद्योग र अन्य आर्थिक विषयले पनि चीनको निर्णयलाई प्रभावित पार्न सक्छ। विश्वका ६० प्रतिशतभन्दा बढी सेमिकन्डक्टर ताइवानमा उत्पादन हुन्छ, जसले अमेरिकी अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्छ।

दुई देशबीचको तनाव चुलिए पनि, ताइवानमाथि हुने अतिक्रमणले क्षेत्रीय र विश्वव्यापी असर पार्ने भएकाले तत्कालका लागि ताइवानमा चीनले अतिक्रमण नगर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस