भारतले पहिलो स्वदेशी सेमिकन्डक्टर चिप २०२५ को अक्टोबरसम्म उत्पादन गर्ने

 

नयाँ दिल्ली— भारतले पहिलो स्वदेशी रूपमा निर्मित सेमिकन्डक्टर चिप २०२५ को सेप्टेम्बर वा अक्टोबरसम्म उत्पादन गर्ने तयारी गरेको छ। आईटी मन्त्री अश्विनी वैष्णवका अनुसार यो लक्ष्य हासिल गर्न व्यापक तयारी भइरहेको छ।

टाटा इलेक्ट्रोनिक्सले ताइवानको पावरचिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसनसँगको सहकार्यमा गुजरातको धोलेरामा सेमिकन्डक्टर उत्पादन इकाई निर्माण गरिरहेको छ। यसैबीच, माईक्रोनको असेंब्ली तथा परीक्षण केन्द्र गुजरातको सानन्दमा ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ।

यसका साथै, सरकारद्वारा बेंगलुरुस्थित भारतीय विज्ञान संस्थानलाई ग्यालियम नाइट्राइड प्रविधिमा अनुसन्धान गर्न ३३४ करोड भारतीय रुपैयाँ (३८ दशमलव ५२ मिलियन अमेरिकी डलर) अनुदान प्रदान गरिएको छ। यो प्रविधि दूरसञ्चार र विद्युत् क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

भारतीय सेमिकन्डक्टर मिसन १ अन्तर्गत मोहालीस्थित सेमिकन्डक्टर प्रयोगशालाको स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ। कैबिनेटको स्वीकृति पाएपछि मिसन २ को तयारी अघि बढाइने बताइएको छ।

यो पहल २०२१ मा सुरू गरिएको ‘सेमिकन इंडिया’ कार्यक्रमको हिस्सा हो, जसमा भारतलाई विश्वव्यापी सेमिकन्डक्टर हब बनाउने लक्ष्यसहित ७६,००० करोड भारतीय रुपैयाँ (८ दशमलव ७६ बिलियन अमेरिकी डलर) को लगानी गरिएको छ।

प्रतिक्रिया दिनुहोस