अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धले पाकिस्तान र अफगानिस्तानका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्भावना

 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ यात्रा प्रतिबन्धले पाकिस्तान र अफगानिस्तानका नागरिकहरूको अमेरिका प्रवेशमा रोक लगाउन सक्नेछ। यद्यपी यसको अहिलेसम्म औपचारिक निर्णय हुन बाँकी रहेको छ । सुरक्षा र भिसा जाँचसम्बन्धी चिन्ताका आधारमा गरिएको यो निर्णय अन्तर्गत अन्य देशहरू पनि प्रतिबन्ध सूचीमा पर्न सक्ने सम्भावना रहेको छ, तर हालसम्म अन्य देशहरूको नाम खुलाइएको छैन।

यो कदम ट्रम्पको पहिलो कार्यकालमा सात मुस्लिम राष्ट्रहरूका यात्रुहरूमाथि लगाइएको प्रतिबन्धसँग मिल्दोजुल्दो रहेको छ जसलाई सन् २०१८ मा अमेरिकी सर्वोच्च अदालतले अनुमोदन गरेको थियो। तर, डेमोक्रेट नेता जो बाइडेनले राष्ट्रपति बनेपछि २०२१ मा उक्त प्रतिबन्ध हटाएका थिए र यसलाई राष्ट्रको विवेकमाथिको दाग भनेका थिए। नयाँ प्रतिबन्धले अफगान शरणार्थीहरूलाई गम्भीर रूपमा असर गर्नसक्छ, विशेष गरी हजारौं अफगानहरूलाई जसले अमेरिकी सेनाका लागि काम गरेका कारण तालिबानको प्रतिशोधको जोखिम सामना गरिरहेका छन्।

ट्रम्पले जनवरी २० मा हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार, विदेशी नागरिकहरूको सुरक्षा जाँचलाई कडा बनाइनेछ र मार्च १२ भित्र अमेरिकी मन्त्रिपरिषद्का विभिन्न विभागहरूले कुन देशका नागरिकहरूको यात्रा आंशिक वा पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्ने भन्ने सूची तयार गर्नेछन्। स्रोतका अनुसार अफगानिस्तानलाई पूर्ण यात्रा प्रतिबन्धको लागि सिफारिस गरिनेछ, साथै पाकिस्तानलाई पनि सूचीमा समावेश गर्न सिफारिस गरिएको छ।

अमेरिकी विदेश मन्त्रालय, न्याय विभाग, होमल्यान्ड सेक्युरिटी तथा राष्ट्रिय गुप्तचर निकायहरूले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। एक स्रोतका अनुसार, अफगान शरणार्थीहरूलाई अमेरिका पुनर्स्थापित गर्नुअघि कठोर सुरक्षा जाँच गरिन्छ, जसले गर्दा उनीहरू ूविश्वकै सबैभन्दा कडा रूपमा जाँच गरिएका समूह मध्ये पर्छन्। विशेष शरणार्थी भिसा होल्डरहरूलाई यो प्रतिबन्धबाट छुट दिन अमेरिकी विदेश मन्त्रालयको पुनर्स्थापना कार्यालयले प्रयास गरिरहेको छ, तर उक्त छुट पाउने सम्भावना न्यून रहेको बताइएको छ।

अफगानिस्तानको तालिबान सरकारले अमेरिका फिर्ता जाने अफगान नागरिकहरूको पुनर्स्थापनालाई प्रभाव पार्नसक्ने देखिएको छ, किनकि तालिबानले अमेरिकी सेनाका लागि काम गरेका व्यक्तिहरूलाई लक्षित गरिरहेको छ। पाकिस्तान पनि आतंककारी समूहहरूको हमलासँग संघर्ष गरिरहेको छ, जसले गर्दा सुरक्षासम्बन्धी चासो बढेको छ। ट्रम्पले २०२३ को अक्टोबरमा दिएको एक भाषणमा मध्यपूर्व र अफ्रिकाका विभिन्न देशहरू तथा अन्य सुरक्षा चुनौती सिर्जना गर्ने मुलुकहरूबाट आउने व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने प्रतिज्ञा गरेका थिए।

अमेरिकी सरकारसँग अफगान नागरिकहरूको उद्धार र पुनर्स्थापनामा सहकार्य गर्ने अफगानइभाक समूहका प्रमुख शॉन भानडिभरले अमेरिकी भिसा भएका अफगानहरूलाई सकेसम्म छिटो अमेरिका जान आग्रह गरेका छन्। उनले दिएको वक्तव्यअनुसार, अमेरिकी अधिकारीहरूले यात्रा प्रतिबन्ध छिट्टै लागू हुनसक्ने जानकारी गराएका छन्, जसले अमेरिकी पुनर्स्थापनाको प्रतीक्षामा रहेका अफगानहरूलाई नराम्रो असर पार्नसक्छ।

हालसम्म करिब २,००,००० अफगान नागरिकहरू अमेरिका पुनर्स्थापनाका लागि स्वीकृत भइसकेका छन् । यस्तै, करिब २०,००० पाकिस्तानमा सहित ९० अन्य देशका नागरिकहरु यस प्रक्रियामा रहेका छन् । जनवरी २० मा ट्रम्पले ९० दिनका लागि शरणार्थी पुनर्स्थापनाको प्रक्रिया रोक्ने आदेश दिएपछि उनीहरू अमेरिका प्रवेश गर्न नसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस