वाशिङटन, डिसी— अमेरिकी न्याय मन्त्रालयले चीनसँग सम्बन्धित १२ जना ह्याकर र प्रहरी अधिकारीहरूविरुद्ध साइबर अपराधको अभियोग दर्ता गरेको छ। आरोपितहरूमा चिनियाँ प्रविधि कम्पनी ‘आई—सुन’ का आठ कर्मचारी, दुई चिनियाँ प्रहरी अधिकारी, र चिनियाँ साइबर अपराधी झोउ शुआई तथा यिन केचेंग रहेका छन्।
यस्तै, अमेरिकी विदेश मन्त्रालयले झोउ शुआई र यिन केचेंगलाई पक्राउ गर्न सहयोग गर्ने सूचनाका लागि प्रतिव्यक्ति २० लाख डलरसम्मको इनाम घोषणा गरेको छ भने ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत ‘आई—सुन’ कम्पनीका अन्य कर्मचारीहरूबारे सूचना दिने व्यक्तिलाई १ करोड डलरसम्मको इनाम दिने बताइएको छ।
न्याय मन्त्रालयको अनुसार, चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारी संस्था, रक्षा क्षेत्र, सञ्चार, स्वास्थ्य, तथा अन्य महत्वपूर्ण पूर्वाधारहरूसँग सम्बन्धित संवेदनशील डाटा चोरी गरेका थिए। झोउ शुआईले आफ्नो कम्पनी ‘शंघाई हेइयिंग इन्फर्मेशन टेक्नोलोजी कम्पनी’ को माध्यमबाट यी चोरी गरिएका डाटाहरू ब्रोकरेज गरी बेच्ने कार्य गरिरहेको आरोप लगाइएको छ। अमेरिकी कोष विभागलगायत संघीय निकायहरूमा २०२४ को अन्त्यतिर साइबर आक्रमण गरिएको पुष्टि भएको छ, जसमा ‘आई(सुन’ का ह्याकरहरू संलग्न रहेको पाइएको छ।
अमेरिकी अधिकारीहरूले चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालय र राज्य सुरक्षा मन्त्रालयले यी ह्याकरहरूलाई भाडामा लिएर अमेरिकी प्रणालीहरूमा प्रवेश गराउन र सूचना चोरी गर्न लगाएको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रूसले चीनले साइबर अपराधीहरूलाई संरक्षण गरिरहेको आरोप लगाउँदै चिनियाँ कम्युनिस्ट पार्टीका निर्देशनमा अमेरिकी नागरिकहरू तथा संस्था लक्षित साइबर आक्रमण भइरहेको बताइन्।
यसैबीच, न्याय मन्त्रालयका अधिकारीहरूले अमेरिकी साइबर सुरक्षा कडा बनाउने प्रतिबद्धता जनाएका छन्। एफबीआई साइबर डिभिजनका सहायक निर्देशक ब्रायन भोर्नड्रानले चीनले ह्याकरहरूलाई भाडामा लिएर अमेरिकी नागरिकहरूलाई निशाना बनाइरहेको उल्लेख गर्दै, अमेरिका यस्ता साइबर अपराधीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने स्पष्ट संकेत दिएका छन्। राष्ट्रपति ट्रम्प प्रशासनले पनि चीनबाट भइरहेका साइबर आक्रमणहरू रोक्न सरकारी निकायहरूबीच समन्वय गर्दै साइबर सुरक्षाका लागि ठोस कदम चाल्न लागेको जनाइएको छ।