नयाँ दिल्ली— विश्वस्तरीय परामर्शदाता कम्पनी नाइट फ्र्यांकको प्रतिवेदनअनुसार भारतमा उच्च—कूल सम्पत्ति भएका व्यक्तिहरूको संख्या सन् २०२८ सम्म ९ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
उच्च—कूल सम्पत्ति भएका व्यक्ति भनेका १ करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका व्यक्ति हुन्।
नाइट फ्र्यांकको प्रमुख प्रतिवेदन द वेल्थ रिपोर्ट २०२५ अनुसार सन् २०२४ मा भारतमा ८५,६९८ उच्च—कूल सम्पत्ति भएका व्यक्ति थिए, जुन २०२८ सम्म ९३,७५३ पुग्नेछ। यो वृद्धिले भारतको दिगो आर्थिक वृद्धिलाई झल्काउने भन्दै रिपोर्टमा लगानी अवसरहरूको विस्तार, विलासिताको बजारको विकास, र विश्व सम्पत्ति सृजनामा भारतको बढ्दो भूमिका महत्त्वपूर्ण हुने उल्लेख छ।
सन् २०२४ मा भारतमा उच्च—कूल सम्पत्ति भएका व्यक्तिहरूको संख्या ६ प्रतिशतले बढेर ८५,६९८ पुगेको छ, जुन सन् २०२३ मा ८०,६८६ थियो। रिपोर्टअनुसार, भारतमा विश्वका कुल धनाढ्य व्यक्तिहरूको ३ दशमलव ७ प्रतिशत हिस्सा रहेको छ। भारत हाल अमेरिका ९, ०५,४१३ उच्च—कूल सम्पत्ति भएका व्यक्ति, चीनमा ४, ७१,६३४ र जापानमा १२२,११९ उच्च—कूल सम्पत्ति भएका व्यक्ति पछाडि चौथो स्थानमा छ।
विश्वव्यापी रूपमा उच्च—कूल सम्पत्ति भएका व्यक्तिहरूको संख्या २०२४ मा ४ दशमलव ४ प्रतिशतले बढेर २३,४१,३७८ पुगेको छ, जुन २०२३ मा २२,४३,३०० थियो। यस वर्ष उत्तर अमेरिकामा सबैभन्दा धेरै वृद्धि भएको छ भने अन्य सबै क्षेत्रहरूमा पनि वृद्धिको प्रवृत्ति देखिएको छ।
एसियामा यो वृद्धिदर ५ प्रतिशत रहेको छ, जुन दोस्रो उच्च वृद्धि हो। यसपछि अफ्रिकामा ४ दशमलव ७ प्रतिशत, अष्ट्रेलासियामा ३ दशमलव ९ प्रतिशत, मध्य पूर्वमा २ दशमलव ७ प्रतिशत, ल्याटिन अमेरिकामा १ दशमलव ५ प्रतिशत, र युरोपमा १ दशमलव ४ प्रतिशत वृद्धिदर देखिएको छ।
विश्वका कुल धनाढ्य व्यक्तिहरूमध्ये करिब ३९ प्रतिशत अमेरिका निवासी छन्, जुन चीनको तुलनामा झन्डै दोब्बर हो।
भारतमा अहिले १९१ अर्बपति छन्, जसमध्ये २६ जना पछिल्लो वर्षमा मात्र थपिएका छन्। सन् २०१९ मा यो संख्या मात्र ७ थियो।
भारतीय अर्बपतिहरूको संयुक्त सम्पत्ति अनुमानित रूपमा ९५० अर्ब अमेरिकी डलर पुगेको छ, जसले भारतलाई अमेरिका (५ दशमलव ७ ट्रिलियन डलर) र मुख्यभूमि चीन (१ दशमलव ३४ ट्रिलियन डलर) पछि तेस्रो स्थानमा राखेको छ।
नाइट फ्र्यांक इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक शिशिर बैजलले भारतको बढ्दो सम्पत्तिले यसको आर्थिक स्थायित्व र दीर्घकालीन वृद्धिको सम्भावनालाई प्रष्टाउने बताए ।