नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा, कारबाहीको माग

२ भदौ, काठमाडौं । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु यहाँ उल्लेख गर्न लायक पनि छैनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा मंगोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस