जुनु राना ! आज पनि गाडीको झ्यालबाट थोरै नियालेर हेरें। ऊ त्यहीँ उभिएको थियो। हातमा सधैं झैं मोबाइल। अर्को हातमा कहिले कफी त कहिले केहि न केहि खानेकुरा समातेकै हुन्थ्यो उसले। फेरि मुख पनि कहिले खाली नहुने। चुइगम चपाएको चपाएकै गर्ने। भोलिपल्ट सधैंको समयमा गाडी गन्तव्य तर्फ मोडियो।
केहि पर पुगेपछि सधैं उभिएको देखिने ऊ आज भने थिएन। एक जना सहकर्मीलाई कुर्नुपर्ने भएर सधैं ऊ उभिने ठाउँमा गाडी रोकियो। उसलाई सोहि स्थानमा उभिएर मोबाइल चलाएको कफी पिएको देख्ने गरेको पनि लगभग दुई महिना भैसकेको थियो। कहिलेकाहीँ क्याप पनि लगाउँथ्यो उसले। र क्याप सुहाउने पनि। हल्का श्वेत वर्णको ऊ उमेरमा अन्दाजी ३५–३६ को हुनुपर्छ।
आज यहि समयमा यहि ठाउँमा उसलाई नजिकबाट हेरौं भन्ने लागेको थियो। तर सधैं उभिने ठाउँमा ऊ उभिएको छैन। केहि बेरसम्म गाडी त्यही मान्छे कुराइमा बस्यो। ऊ अडेस लगाएर उभिने विद्युतको खम्बा पनि एक्लै जस्तो लाग्यो आज। उसले पिउने र मैले पिउने कफी ब्राण्ड पनि एकै रहेछ।
के भएको यो मन पनि। ऊ अपरिचित हो। को हो कहाँको हो? अनि के गर्छ किन यहाँ उभिन्छ? केहि थाहा भएको होइन। तैपनि यो मन। अनि यहि मनले निर्देश गर्ने यी आँखा। अनायसै किन खोज्नु होला त्यो खम्बामा उभिएको अपरिचितलाई। घरीघरी त आफैलाई थकथकी लाग्छ। सायद सधैं देख्दा आँखालाई बानी परिसकेको हुनसक्छ।
यस्तै कल्पनामा डुबिरहेको म
गाडीमा मान्छे आइसकेछ। गाडी पुनः गन्तव्यतिर गुड्न थाल्यो। गाडीको स्पिकरमा गीत बजाउँदै एफएम सुन्दै हिंड्ने बानी परेको थियो। आज भने गीत लगाउन चासो लागेन। एकछिन शुन्य महशुस भो। त्यो दिन यत्तिकै मनमा कुरा खेलेर सकियो। काम र आफ्नै मनसँगको अन्तरद्वन्द्वको चापमा दिन कतिखेर बित्यो पत्तो नै हुँदैन रैछ।
साँझ त्यही बाटो हुँदै फिर्नु थियो। साँझमा अरुबेला भन्दा बढी ट्राफिकको चाप हुन्छ। रेस्टुरेन्टदेखि बार पनि सबै प्याक।कति नशामा रमेका त कति समूह समूहमा बातिएका देखिन्थ्यो। आखिर बिहानको अधुरो सपनासँगै दिनभरिको भागदौडले थाकेको मस्तिष्क र शरीर सबैलाई आराम दिने आआफ्नै तरिका जो हुन्छ।