वैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य, औंलाको लम्बाइको आधारमा थाहा हुन्छ कोरोनाको जोखिम कति ?

काठमाडौं। वैज्ञानिकहरुले एक अनुसन्धानपछि पुरुषहरुको हातको एउटा औंलाको कोरोनाभाइरसको खतरासँग सम्बन्ध भएको पाइएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार औंलाको लम्बाइको आधारमा कोरोनाबाट मृत्यु हुने खतरा कम छ वा बढी भन्ने थाहा हुन्छ । वैज्ञानिकहरुले औंलाको आकारसँग कोरोनाभाइरसबाट हुने मृत्युको खतराको सम्बन्ध स्थापित गर्नको लागि ४१ देशका २ लाख बिरामीहरुको तथ्यांकको विश्लेषण गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार जो पुरुषहरुको हातको अनामिका (रिंग फिंगर वा साहिँली औंला) लामो छ उनीहरुलाई तुलनात्मक रुपमा कोरोनाबाट मृत्युको खतरा कम पाइएको छ । अध्ययनको निष्कर्षमा अनामिका लामो भएका पुरुषहरुमा कोरोनाको केवल हल्का लक्षण देखिने दावी गरिएको छ । बेलायतको वेल्सस्थितस्वानसी युनिभर्सिटीमा यो अध्ययन गरिएको हो । १९२० मा स्थापित यो युनिभर्सिटी पब्लिक रिसर्चको लागि परिचित छ । यो अध्ययनलाई अर्ली ह्युमन जर्नलमा प्रकाशित गरिएको छ ।

अध्ययनका अनुसार महिलाहरुको हातको औंलाको मृत्युदरसँग सम्बन्ध पाइएन । द सनको रिपोर्ट अनुसार लिड रिसर्चर प्रोफेसर जोन मेनिंगले बताएअनुसार यो अध्ययनको आधारमा अस्ट्रेलिया, न्यूजिल्याण्ड, अस्ट्रिया र पूर्वी एसियाका देशहरुलाई बायोलोजिकल लाभ प्राप्त हुने देखिएको छ । यी देशका नागरिकको हातमा अनामिका आम रुपमा लामो हुन्छ ।

अध्ययनमा बताइएअनुसार अनामिका औंलाको लम्बाइको सम्बन्ध गर्भमा भ्रुणले प्राप्त गर्ने टेस्टोस्टेरोनको लेभलसँग हुन्छ । यो अध्ययनको लागि वैज्ञानिकहरुले ४१ देखका २ लाख बिरामीको तथ्यांकको विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताहरुले यी सबै बिरामीको आतका औंलाको नाप लिएका थिए । वैज्ञानिकहरुले अध्ययनका क्रममा जुन देशका पुरुषहरुको अनामिका औंलाको लम्बाइ औसतमा छोटो हुन्छ त्यहाँका पुरुषहरुमा कोरोनाबाट मृत्यु हुने खतरा अधिक भएको पाएका छन् ।

वैज्ञानिकहरुले हातका औंलाको अध्ययनको लागि एक अनुपातको पनि प्रयोग गरे । यस क्रममा चोर औंला र अनामिकाको मिलिमिटरमा नाप लिइयो । चोर औंलाको लम्बाइलाई अनामिकाको लम्बाइले भाग गरियो । यसलाई डिजिट रेशियो भनियो । वैज्ञानिकहरुका अनुसार यदि डिजिट रेशियो (चोर औंलाको लम्बाइलाई अनामिकाको लम्बाइले भाग गर्दा आउने अंक) कम भएमा (करिब ०.९७६) बिरामीको मृत्युको खतरा कम हुन्छ र यदि डिजिट रेशियो बढी (करिब ०.९९ भन्दा बढी) भएमा मृत्युको खतरा बढी हुन्छ । अर्को तरिकाले भन्दा डिजिट रेशियो कम हुनको लागि अनामिका चोर औंलाभन्दा लामो हुनुपर्छ ।

डेलीमेलको रिपोर्टअनुसार विशेषज्ञहरुले गर्भमा रहँदा भ्रुणले टेस्टोस्टेरोन जति बढी पायो अनामिकाको लम्बाइ त्यति नै बढी हुने बताएका छन् । पुरुषहरु गर्भमा रहँदा जति धेरै मात्रामा टेस्टोस्टेरोन पाए उनीहरुको अनामिकाको लम्बाइ त्यही आधारमा बढी हुने विशेषज्ञले बताएका छन् । यसअघि पनि केही अन्य अनुसन्धान रिपोर्टहरुमा टेस्टोस्टेरोन हर्मोनले कोरोनाभाइरसबाट बचाउनको लागि काम गर्ने पाइएको दावी गरिसकिएको छ ।

टेस्टोस्टेरोनबाट शरीरमा एसीइ २ रिसेप्टरको संख्यामा वृद्धि हुन्छ । वैज्ञानिकहरुका अनुसार एसीइ २ रिसेप्टरकै माध्यमबाट कोरोनाभाइरसले शरीरमा संक्रमण फैलाउँछ तर एसीइ रिसेप्टरको अधिक संख्याले फोक्सोलाई नोक्सानीबाट बचाउँछ । अध्ययनमा पत्ता लागेको छ कि अधिक टेस्टोस्टेरोन भएका पुरुषहरुको तुलनामा कम टेस्टोस्टेरोन लेभल भएका पुरुषहरुमा मृत्युको खतरा बढी हुन्छ । यसअघि पनि कैयौं अध्ययनमा महिलाहरुलाई भन्दा पुरुषहरुलाई मृत्युको खतरा अधिक भएका प्रमाणहरु भेटिएका छन् । यद्यपि अहिलेसम्म महिलालाई भन्दा पुरुषलाई खतरा किन बढी छ भन्ने प्रस्ट कारण खुलिसकेको छैन ।

बेलायतको राष्ट्रिय तथ्यांकका अनुसार इङल्याण्ड र वेल्समा प्रति एक लाखमा पुरुषको मृत्युदर ९७.५ छ भने महिलाको मृत्युदर ४६.५ छ । वैज्ञानिकहरुले यो विश्वास गरेका छन् कि टेस्टोस्टेरोनको लेभल पुरुषको बढी मृत्युको कारण हो । वैज्ञानिकहरुले अध्ययनका क्रममा मलेसिया, रुस र मेक्सिकोका पुरुषहरुको अनामिका लामो हुने पाएका छन् । यी देशमा कोरोनाबाट मृत्युदर कम देखिएको छ । बेलायत, बुल्गेरिया र स्पेनमा अनामिका सानो पाइयो । यहाँ मृत्युदर अधिक थियो । बायाँ हातको तुलनामा दायाँ हातको नापको खतरासँग सम्बन्ध सटिक पाइयो । दायाँ हातको अनामिकाको नाप लिएर गरिएको अध्ययनमा अनामिका सबैभन्दा लामो हुने १० देशमा मृत्युदर २.७ प्रतिशत पाइयो । अनामिका सबैभन्दा छोटो हुने १० देशमा मृत्युदर ४.९ प्रतिशत पाइयो।

प्रतिक्रिया दिनुहोस