कोरोना निको भएपछि गुर्जोप्रति बढ्यो मोह,युवाले नै निशुल्क बाँड्न थाले

काठमाडौ । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई निःशुल्क गुर्जो वितरण गर्न अचेल उहाँ व्यस्त हुनुहुन्छ । यसका लागि उहाँले अभियान नै चलाउनुभएको छ ।

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई निःशुल्क ।वितरण अभियान थालिएको उहाँले बताउनुभभयो । यहाँका केही युवाको साथ लिएर विगत पाँच दिनदेखि यो अभियान सञ्चालन गरेको सामाजिक अभियन्ता विष्टको भनाइ छ ।

“कोरोनाबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि अहिले आफूले यसको निशुल्क वितरण गर्ने अभियान शुरु गरेका छौं, पहिलो चरणमा काभ्रेपलाञ्चोकका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई पु¥याउने लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो । उहाँका अभियानमा बनेपाका रविन्द्र देउजालगायत युवाले साथ दिएका छन् । आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पाँच बोरा गुर्जो वितरण गरेर अभियानको शुरुवात गर्नुभएका विष्टले उक्त गुर्जो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयमा वितरण गर्ने गरी प्रदान गरिएको बताउनुभयो । उहाँले बनेपा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो गुर्जो वितरण गर्नुभएको बताउनुभयो ।

यस्तै, बनेपास्थित बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगरपालिकाको कार्यालयमा ४० किलो गुर्जो वितरण गरिएको छ । भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा पनि ४० किलो गुर्जो वितरण गरिएको अभियन्ता विष्टको भनाइ छ ।

बनेपा नगरपालिका–२ बाट गुर्जो सङ्कलन गरी वितरण गरिएको अभियानका सदस्य देउजाले बताउनुभयो । “रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकस्थित स्थानीय तहका वडा कार्यालयमा समेत वितरण गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस