विश्वकै सबैभन्दा अग्लो त्रिशुल स्थापना भएको दाङको पाण्डवेश्वर महादेव धारापानी मन्दिरको दर्शन गर्नुस्

विश्वकै सबैभन्दा अग्लो त्रिशुल स्थापना भएको दाङको धारापानी मन्दिरमा शुक्रबार दिनभर भक्तजनको घुइँचो लागेको छ। दाङको धर्नास्थित प्रमुख पर्यटकीय एवम् धार्मिकस्थल पाण्डवेश्वर महादेव धारापानी मन्दिरमा शिवरात्रीको अवसरमा सालिन्दा ठुलो मेला लाग्दै आएको छ। पछिल्लो सयम विश्वकै अग्लो त्रिशुल स्थापनापछि भक्तजनको ओइरो लाग्ने गरेको छ।

विश्वको अग्लो त्रिशुलको फोटो कैद गर्नेहरुको संख्या निकै बाक्लो थियो। विगत केही वर्षयता यहाँ शिवरात्रीको अवसरमा धार्मिक महोत्सव समेत आयोजना गर्दै आइएको छ।जहाँ दर्जनको कलाकारहरु निम्त्याउने गरिन्छ। शुक्रबार पनि धारापानी मन्दिरमा सयौं नरनारी पुगेका छन्। विश्वकै ठूलो त्रिशुल स्थापना गरेपछि झनै धारापानी मन्दिरको ख्याती देश विदेशसम्म चुलिएपछि त्यो हेर्नका लागि मानिसहरु विभिन्न जिल्लावाट दाङ आउने गरेका छन्।

मन्दिर परिसरमा पार्किङस्थल वा पिकनिक स्पटको विकास गरिनु, सयौं वरपिपलका बिरुवाहरु रोप्नु जस्ता कारणले गर्दापनि धारपानीमा सयौं भक्तजनहरुको लागि आकर्षक गन्तव्य बनेको छ।शिवरात्रीको अवसरमा यहाँ फलफूलदेखि अन्य वस्तुको व्यापार गर्नेहरुको पनि उत्तिकै भिड देखिन्थ्यो। शिवरात्रीको अवसरमा मन्दिर परिसरमा निर्मित एक सय आठ शिव लिंगको पूजा आराधना गर्ने महिलाहरुको संख्या पनि उल्लेखनीय नै थियो।

शिवरात्रीको अवसरमा विभिन्न ठाँउबाट धारापानी आएका सन्त र बाबाहरुको तस्विर लिनेहरुको संख्यापनि उत्तिकै थियो। धारपानी मन्दिर परिसरमा १ हजार ८ वरपिपलको जोडी रोपिएको छ। यो मन्दिरमा रहेको साजको रुखबारे अनेक किम्बदन्तीहरु पाइन्छ। रुख जतिसुकै काट्न प्रायः गर्दापनि नकाटिएपछि त्यही मन्दिर निर्माण गरेर पूजाअर्जना सुरु गरिएको धार्मिक मत राख्नेहरु बताउँछन्।

यो कुरा आजभन्दा करिब २ सय वर्ष पहिलेको रहेको बताइन्छ। नजिकैको गुरुवा गाँउका चौधरी थारु समुदायका सर्वसाधारणले धानको बिउँ दबाउन प्रयोग गरिने काठ काट्ने क्रममा काठ काट्न जङ्गल जाँदा एउटा साजको रुख दिनभर काट्दा काटिएन। अर्को दिन जाँदा काटेको घाउ पुरिएर जस्ताको त्यस्तै देखेपछि सबै अचम्मित भएको जनश्रुती छ। सोही समयमा शिवलिङ्ग र सानो गहिरो जलकुण्ड फेला परेको थियो। त्यसैले पाण्डवेश्वर मन्दिको बीच भागमा दिव्य शिवलिङ्ग रहेको विश्वास गरिन्छ।

पाण्डवेश्वर मन्दिरभित्र रहेको दिव्य शिवलिङ्ग पाँच हजार वर्ष अघिको भएको अनुमान गरिँदै आइएको छ। यतिमात्रै हैन, पछिल्लो समय विश्वकै ठूलो त्रिशुल स्थापनास्थलमा रहेको एउटा अर्काे सानो साजको रुख डाल्ने प्रयास गर्दा डोजरले नसकेपछि त्यसलाई पनि पूजा आराधना गर्न लागिएको छ। दुई–तीन दिन प्रयत्न गर्दापनि डोजरले नाडी जत्तिकै सानो आकारको रुखको फेद काट्न नसकेको बरु डोजरको खन्ने दाँतहरु नै भाँचिएपछि त्यो साजको रुख उलेख्ने काम छोडिएको स्थानीयबासी बताउँछन्।
यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस