बिरामी बाबु साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गर्ने बालिका, संसार भर भाइरल हुदै

एजेन्सी । लकडाउनको समयमा परेको अप्ठेरोमा अहिले सहयोग गर्ने भनेको परिवारका सदस्य मात्र हुन् । लकडाउनका कारण वाहिर निस्कन नपाएको हुँदा अहिले सबै परिवारका सदस्यसंगै बसेका छन् । एक अर्काको मन भुलाउने बाटो परिवारका सदस्य भएका छन् । तर त्यही परिवारका सदस्यलाई अप्ठेरो भयो भने कति सम्म गर्न सकिन्छ भन्ने उदाहरण एक १५ वर्षकी बालिकाले देखाएकी छन् । भारतकी ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाले आफ्ना बिरामी बावुको उपचारका लागि गरेको साहसिक यात्राको अहिले विश्वभर चर्चा भएको छ ।

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका बीच ती बालिकाले १२ सय किलोमिटरको यात्रा साइकलमा गरेकी हुन् । आफ्ना विरामी बुवालाई साइकलको सिटमा पछाडी राखेर उनले त्यती धेरै यात्रा तय गरेकी हुन् । साइकलमा लामो समय अनुभव भएकाहरुका लागि पनि निकै कठिन यो यात्रा उनी जस्ती एक सामान्य बालिकाले पार गरेकी हुन् । आफ्नो अभिभावक प्रतिको मायाले नै यो सम्भव भएको हो । ब्यवसायीक खेलाडीले पनि गर्न नसक्ने यस्तो असम्भव कामलाई उनले सम्भव बनाएकी छन् ।

हरियाणाको गुरुग्रामबाट बिरामी बाबु मोहन पासवानलाई साइकलको पछिल्लो सिटमा बोकेर उनी बिहारको दरभंगासम्म पुगीन् । लामो यात्रा पार गरेर आएका हुनाले उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको गाउँ सिरहुल्लीस्थित क्वारेन्टाइनमा उनीहरु बसिरहेका छन् ।

भाडामा बसेर रिक्सा चलाउँदै आएका ज्योतीका बाबु मोहन केही महिनाअघि सवारी दुर्घटनामा घाइते भए । जसका कारण उनले काम गर्न सकेनन् । तर घरभेटीले भाडाका लागि दवाव दिन थालेपछि उनीहरुले यस्तो साहसिक निर्णय गरेका हुन् । भाडा तिर्न नसके घर छाड्न घरभेटीले भनेपछि उनीहरु भाडाको घर छोडेर साइकलमा आफ्नै घर निस्केका हुन् । औषधी समेत खान नपाएपछि वाध्य भएर घर आउनु परेको बालिकाका बुवाले बताएका छन् ।

अरु चार सन्तान लिएर ज्योतीको आमा गाउँमै छन् भने ज्योती बुवाको रेखदेखका लागि उनीसंगै थिइन् । बाबु विरामी भएपछि ज्यातीले साइकलमा जान बुवालाई आग्रह गर्दा सुरुमा उनका बुवाले मानेनन् । तर अरु केही उपाय नभएपछि ज्योतीको निर्णय मान्न उनी बाध्य भए ।

बस वा रेल केही थिएन । अन्य सवारीसाधन पनि तत्काल उपलब्ध हुने कुनै संकेत थिएन । हिँडेर जानु त असम्भव जस्तै थियो, त्यसैले छोरीको त्यो आग्रह अस्विकार गर्न सकिन उनले भने ।

प्रतिक्रिया दिनुहोस