६ दिनको नवजात शिशु ब्यागमा हालेर विमान चढ्न लाग्दा महिला पक्राउ

मनिला । एक अमेरिकी महिलालाई फिलिपिन्सबाट एक एउटा नवजात शिशुलाई लिएर जान लागेको भन्दै ह्युमन ट्राफिकिङ्गको आरोपमा विमानस्थलमा पक्राउ गरिएको छ । ४३ वर्षीया जेनिफर टल्बोटलाई मनिलास्थित निनोय अक्विनो इन्टरनेसनल एयरपोर्टमा बुधबार पक्राउ गरिएको हो । ६ दिनको एउटा नवजात शिशु उनको क्यारी अन ब्यागमा भेटिएको थियो ।

उनी अमेरिका जान लागेकी थिइन् । अधिकारीहरुका अनुसार ती महिलाले सो बच्चाको बारेमा अध्यागमनका अधिकारीलाई केही पनि बताएकी थिइनन् । फिलिपिन्सको नेशनल व्युरो अफ इन्भेस्टिगेसन (एनबीआइ) ले सो बच्चालाई ती महिलाले जबर्जस्ती लिएर जान लागेको आरोप लगाएको छ ।
सो बच्चाको आमा र बाबुलाई पनि बाल संरक्षण कानुन अन्तर्गत कारवाही हुने जनाइएको छ ।

सो नवजात शिशुलाई सामाजिक सेवा सम्बन्धी हिरासतमा लगिएको बताइएको छ । ती अमेरिकी महिला अमेरिकाको ओहियो निवासी हुन् । उनले नवजात शिशुको कुनै बोर्डिङ्ग पास वा अन्य कुनै कागजात देखाएकी थिइनन् । सुन्तले रंगको टिशर्ट लगाएकी ती महिलालाई बिहीबार पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो । उनले त्यहाँ कुनै कमेन्ट गरिनन् । उनी दोषी ठहरिएमा आजीवन कारावासको सजाय भोग्नुपर्ने एनबीआई विमानस्थल डिभिजनका प्रमुख मानुएल डिमानोले बताए ।

उनको गिरफतारीको बारेमा मनिलास्थित अमेरिकी दूतावासमा पनि जानकारी दिइएको एशोसिएट प्रेसले जनाएको छ । एनबीआइका अनुसार उनलाई गिरफतार गरिएपछि ती महिलाले बच्चा लैजानका लागि दिइएको सहमति दाबी गर्दै कागजात देखाएकी थिइन् । तर त्यो कागजातमा बच्चाकी आमाको हस्ताक्षर नभएको बताइएको छ । (बीबीसी)

प्रतिक्रिया दिनुहोस