थापाथलीस्थित प्रसुति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् ५ शिशु

काठमाडौं –  परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार ५ वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार जना जीवित रहेको अस्पतालले जनाएको छ। अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा उक्त शल्यक्रिया भएको थियो।

डा सुवेदीको नेतृत्वमा भएको शल्यक्रियामा डा दिप्ती श्रेष्ठ, डा नमिता सिङदेन संलग्न थिए। यस्तै, एनेस्थेसियामा डा मुकेश कुमारले नेतृत्व गरेका थिए भने नर्सिङ टिमको नेतृत्व रविना प्रजापतिले गरेको थिइन्। हाल बाल रोग विशेषज्ञ डा श्रद्धा श्रेष्ठको रोहवरमा शिशुहरुको उपचार भइरहेको डा सुवेदीले जानकारी दिए।

जीवित जन्मिएका चार शिशुलाई हाल निगरानीका लागि एनआइसियुमा राखिएको डा सुवेदीले जानकारी दिए। उनका अनुसार आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य छ।

शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ। ती महिलाको तीन हप्ता अघि भिडियो एक्सरे गर्दा एक शिशुको गर्भमै मृत्यु भएको थियो।

डा सुवेदीले एकै पटक पाँच जना शिशुलाई जन्म दिएको पहिलो पटक हुन सक्ने बताए। उनले भने, ‘मैले थाहा पाएसम्म एकै पटक पाँच जना शिशुलाई जन्म दिएको यो नै पहिलो पटक हो।’

प्रतिक्रिया दिनुहोस