१० घण्टासम्म आकाशमै उड्ने ‘एयर एसिया’की एयर होस्टेज कृजनाको फ्लाइट अनुभव (फोटो फिचर)

काठमाडौं। सानोमा आकाशमा हवाइजहाज उडेको देख्दा कृजना डंगोललाई लाग्थ्यो, ‘यसरी आकाशमा उड्न पाए पनि हुन्थ्यो ।’ उनी सोच्थिन्, ‘अकाशमा उड्दा कस्तो होला ?’ तर, अहिले उनै कृजना १० घण्टासम्म आकाशमै उड्छिन्।

‘मेरो अकाशमा उड्ने सपना पूरा भएको छ’ दुई वर्षदेखि ‘एयर एसिया’मा एयर होस्टेसको रुपमा कार्यरत कृजनाले सुनाइन् । एयर एसिया मलेसियन एयरलाइन्स हो । त्यसैले बढीजसो मलेसियामै बस्दै आएकी कृजना कोरोना महामारीका कारण नेपाल आएकी हुन् । कोरोना संक्रमणको महामारी र त्यसले निम्ताएको लकडाउनका कारण एयरलायन्सले फ्लाइटमा कटौती गरेपछि विदामा आएकी कृजना भन्छिन्, ‘सामान्य अवस्था आएपछि फेरि जान्छु।’

एयर होस्टेस भएपछि कृजनाले विश्वमा १० भन्दा बढी मुलुक देखिसकेकी छन् । एयर एसियाले उडान भर्ने मुख्य मुलुकहरु अमेरिका, अष्ट्रेलिया, चीन, जापान, कोरिया, इण्डोनेसिया, भारत, जापानलगाययत हुन् । ती देशमा कृजनाले पुगिरहेकी हुन्छिन् । उनले पहिलो व्यवसायी उडान नै अष्ट्रेलियाको गरेको बताइन् । कृजनालाई आनन्द लाग्ने पनि अष्ट्रेलिया फ्लाइट गर्दा नै हो । कृजनाले फ्लाइट अनुभव सुनाउँदै भनिन्, ‘मलाई अष्ट्रेलिया फ्लाइट गर्दा आनन्द लाग्छ । अष्ट्रेलिया फ्लाइटमा नेपाली प्यासेन्जर पनि भेटिन्छन् । तर, अरु देशको फ्लाइट गर्दा एक जना पनि नेपाली हुँदैनन्।’

उडानमा आफ्नो अनुभव सुनाउँदै कृजनाले थपिन्, ‘सुरु सुरुमा उडान गर्दा डर लाग्थ्यो । अहिले पनि ल्याण्ड गर्ने बेलामा डर लाग्छ ।’ आफू भन्दा पनि प्यासेन्सरको ख्याल गर्ने कुरामा डर लाग्ने गरेको उनले सुनाइन् । १० घण्टासम्म लामो फ्लाइट गर्दा छुट्टै आनन्द लाग्ने कृजनाले बताइन् । ‘दैनिक एक फ्लाइट मात्र परेको हुन्छ’ उनले भनिन्, ‘कुनै कुनै फ्लाइट १० घण्टासम्मको हुन्छ ।’ एयर एसियाले सबैभन्दा बढी फ्लाइट चीन र इण्डोनेसिया गर्छ । त्यसपछि भारत, अमेरिका र जापान । ती सबै देशमा कृजना उड्दै आएकी छन्।

भक्तपुर लोकन्थलीकी कृजना ‘मिस नेवा–२०१७’मा सहभागी भएपछि मोडलिङमा होमिएकी हुन् । त्यही वर्ष ‘मिस भक्तपुर’मा सहभागी भएर ‘सेकेण्ड रनरअप’ उपाधि जितेकी कृजनाको उद्देश्य भने एयर होस्टेस बन्नु नै थियो । एयर होस्टेसबाहेक कृजना मोडलिङमा पनि रुचि राख्छिन् । तेक्वान्दोका ब्ल्याक बेल्ट समेत रहेकी कृजना भन्छिन्, ‘एयर होस्टेज छ छँदैछ, त्यसबाहेक मलाई मोडलिङमा पनि रुचि छ ।’ त्यसो त उनले केही एडहरुमा मोडलिङ गरिसेकेकी छन् । अब आफूले चाहेजस्तो गीतमा प्रस्ताव आए भिडियोमा मोडलिङ गर्ने उनको इच्छा छ।

प्रतिक्रिया दिनुहोस