राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी, सभामुखबिनै बैठक बस्ने बाटो खुल्यो

काठमाडौं, ३० मंसिर । सरकारले रिक्त रहेका संवैधानिक निकायहरूमा पदपूर्तिका लागि अध्यादेश जारी गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद् बैठक स्थगित भएपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्ती जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको जानकारी दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश २०७७) जारी गर्नुभएको हो ।

विभिन्न संवैधानिक निकायका ४५ पदपूर्तिका लागि २ पटक सम्म गणपूरक संख्या नपुगेर स्थगित भएसँगै प्रधानमन्त्री ओलीले अध्यादेशको सहयोग लिनुभएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि बहुमत सदस्यको उपस्थितिमा संबैधानिक परिषदको बैठक बस्न सक्ने भएको छ । आज विहान सभामुख अनुपस्थित हुँदा बस्न नसकेको संबैधानिक परिषदको बैठक आजै साँझ पाँच बजे बोलाइएको छ । सत्तारुढ नेकपाभित्र देखिएको द्वन्द्धको असरको रुपमा यो अध्यादेशलाई लिइएको छ ।

प्रतिक्रिया दिनुहोस