ब्राजिलका राष्ट्रपति भन्छन्: कोरोनाको खोपले महिलाको दाह्री पलाउनसक्छ, मान्छे गोही बन्‍नसक्छ !

ब्राजिल: कोभिड १९ को महामारी नियन्त्रणमा गम्भीर नबनेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो आलोचित बनिरहेका बेला उनले हालै कोभिडविरुद्धको खोपबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।

कोभिड विरुद्धको खोप कोही पनि ब्राजिलियनलाई नलगाउने भन्दै उनले हालै यो खोप लगाए मानिस गोही बन्नसक्ने जिकिर गरे । साथै महिलाको गालामा दाह्री पलाउनसक्ने दावी समेत गरे । यस्तै पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने वा यस्तै बदलाव आउनसक्ने भन्दै भ्याक्सिन लगाउनु उपयुक्त नभएको उनको ठहर छ ।

फाइजर कम्पनीको भ्याक्सिनले यसको गलत असर देखिएमा आफू जिम्मेवार नहुने भनेपछि बोल्सोनारोले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले यसअघि पनि कोरोनाभाइरसलाई साधारण रुघाखोकी मात्रै भएको भन्दै विवादित बनेका थिए ।

यद्यपि भ्याक्सिनको परीक्षण ब्राजिलमा पनि भइरहेको छ । ब्राजिलसँग चिनियाँ र अरु केही औषधि कम्पनीले सम्झौता गरेका छन् । विश्वमा सबैभन्दा धेरै कोरोनाको असर पर्ने देशमध्ये ब्राजिल पनि एक हो । जहाँ अमेरिकापछि धेरै मृत्यु भएको हो ।

अर्थात् यहाँ १ लाख ८५ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै ७१ लाख भन्दा धेरे संक्रमित भइसकेका छन् । त्यसो त ब्राजिलका राष्ट्रपति बोल्सोनारो र उनकी पत्नी समेत यसअघि नै कोरोनाभाइरसबाट संक्रमित भइसकेका हुन् । ३ साताको उपचारपछि निको भएका बोल्सोनारोले कोरोना र यसको खोपबारे विवादास्पद अभिव्यक्ति दिँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस