देशको लोकतन्त्रमा कुनै खतरा आउँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, पुस २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र, लोकतन्त्रका लागि आफू ५० वर्ष संघर्ष गरेकाले त्यसमा कुनै खतरा नआउने प्रष्ट पार्नुभएको छ ।
नेकपा सुदूरपश्चिम स्तरीय बृहत् आमसभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । आफू लोकतन्त्र र गणतन्त्रका लागि लामो संघर्ष गरेर आएको व्यक्ति भएकाले त्यस्तो कल्पना पनि नगर्न सबैमा आग्रह गर्नुभयो । सरकारको कदम असंवैधानिक हो भन्नेहरुलाई संविधान पढ्न उहाँले आग्रह गर्नुभयो ।
देश र जनताको पक्षमा काम गर्न दिएनन् त्यसैले विकल्पका लागि नयाँ जनादेशमा जाने निर्णय गरिएको हो प्रधानमन्त्री ओलीले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रचलन, संविधान र जुन हिसाबले पनि प्रतिनिधिसभा पुनःस्र्थापना हुँदैन, अब चुनावबाटै गठन हुन्छ ।” चुनाव तोकिएकै मिति वैशाख १७ र २७ गते हुने उहाँले विश्वास दिलाउनुभयो । चुनाव तोकिएकै मितिमा हुने भएकाले निर्वाचन अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

विकासको जिम्मा लिन्छु
विरोधीलाई केही गर्नुपर्दैन, जनताले भोट नहाले पुग्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको पक्षमा, जनताको पक्षमा काम गर्नेलाई भोट दिएर जिताएर पठाउनुस् ।” तपाईहरु राम्रो मानिस जिताएर पठाउनुस्, देश विकास गर्ने जिम्मा म लिन्छु उहाँले भन्नुभयो । यो सरकारले गरेको विकासको काम तपाईहरु सबैले देख्नुभएको छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप विकासको काममा आफू लागिपरेको बताउनुभयो ।

मिल्नै नसक्ने के पर्यो ?
सँगै रहेका नेताहरुलाई पार्टीमा मिल्नै नसक्ने के त्यस्तो अवस्था आयो अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । म राजनीतिमा २०२२ सालदेखि लागेको हुँ, माधवकुमार नेपाल २०३२ सालमा लाग्नुभयो अनि को सिनियर हो मूल्याङ्कन गर्नुस् उहाँले भन्नुभयो । पार्टी महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा पराजित भएका नेता नेपाललाई अध्यक्षको मोह पलाएकाले पार्टी फुटमा गएको उहाँले टिप्पणी गर्नुभयो ।
“चोइटिएर जानेहरुलाई म भन्न चाहन्छु दुई अङ्कमा सिट ल्याएर देखाउनुस्, देशभरीमा दश सिट ल्याएर देखाउनुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो पार्टी सम्धी, छोरीबुहारीवाला पार्टी होइन, देश बनाउने र जनताको पार्टी हो ।” आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन, मैले त्यसो गरेको छैन उहाँले भन्नुभयो । कसकसका आफन्त कहाँ कहाँ छन, सबै थाहा छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पचास वर्षअघि नयाँ एकताको अभियान थालनी गरेर आएको व्यक्ति हुँ, काम लाग्छ कि भनेर पार्टीमा प्रचण्डलाई पनि ल्याएर आएको थिएँ ।”
अँध्यारोमा उड्ने, हिंड्ने बानी लागेकाहरु घाम लागेपछि टिक्न सक्दैनन् प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस क्षेत्रमा लाटाकोसेराहरु टिक्न सक्दैनन् ।” भ्रमको खेती गरेर अब कोही अघि बढ्न नसक्ने भन्नुहुँदै उहाँले जनता सचेत भइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस