प्रचण्ड–नेपालका कार्यकर्ताले सडकमै पकाए खाना, सडकमै बसेर खाए !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विदादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित बनेको प्रचण्ड-नेपाल पक्षले अकस्मात बिहीबारका लागि भनेर देशव्यापी आमहड्ताल घोषणा गरेको हो ।

प्रचण्ड-नेपाल पक्षको आमहड्तालका कारण देशभर नै जनजीवन प्रभावित भएको छ । बिहीबार बिहानैदेखि प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका कार्यकर्ताहरु सडकमा निस्किएका छन् ।

बन्दको अनुगमन गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल आफैं सडकमा निस्किएका छन् ।

बिहान ५ बजेदेखि नै बन्दकर्ताहरु सडकमा निस्किएका थिए । बिहानैदेखि बन्द गर्न निस्किएकाहरु मध्याह्नतिर भने खानपानको व्यवस्थापनमा लागेका छन् ।

केही बन्दकर्ताहरुलाई चिउरा र दालमोठ वितरण गरिएको छ भने केही ठाउँमा बन्दकर्ताले सडकमै खाना पकाएर सडकमा बसेर खाना खाएका छन् ।

प्रचण्ड-नेपाल निकट युवा संघका संयोजक रामप्रसाद सापकोटासहितका बन्दकर्ताले कोटेश्वरमा सडकमै खाना पकाएर खाएका छन् । कोटेश्वर क्षेत्रमा खटिएका बन्दकर्ताहरुका लागि सडकमै खाना पकाइएको उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस