पछिल्लो दशक मानवमा मानवता ह्रास हुन थालेको सार्वजनिक घटनाहरुले देखाउन थालेको छ,

सबैभन्दा श्रेष्ठ प्राणी हो, मानव । यो विवेकशील भएकै कारण श्रेष्ठ प्राणीको रुपमा दर्ज भएको हो । मानवले आफ्नो कर्मको असरबारे पूर्वानुमान गर्नसक्छ । के गर्न हुने र नहुने पनि छुट्याउन सक्छ, मानवले । विवेकशील भएकै कारण मानवले हिंस्रक जनावरदेखि आफूभन्दा सयौँ गुणा बलवान प्राणीलाई आफ्नो अधिनमा राख्न सक्छ ।

तर, पछिल्लो दशक मानवमा मानवता ह्रास हुन थालेको सार्वजनिक घटनाहरुले देखाउन थालेको छ । हुन त, मानव सभ्यता नै हिंसाबाट सुरु भएको हो । तर, शिक्षाको विकाससँगै मानव उच्चविवेकशील बन्न पुगेको छ । तर, त्यो विवेकलाई गलत रुपमा प्रयोग गर्दा विश्व नै त्रासमा छ । विश्व शक्तिशाली मुलुकहरु शक्तिआर्जनका लागि मानवीयताको पाठको पढाउन छाडेर ठूल्ठूला हतियारको विकास गर्न लागे । यसरी विकास भएका हतियारले अहिले पनि दैनिक कयौँको ज्यान लिइरहेको छ ।

नैतिक र सदाचार विचारबाट कूविचारमा मानव समाज अघि बढ्न लागेको हालै सार्वजनिक दुई घटनाले पुष्टि गरेको छ । यी दुई घटना पछिल्लो उदाहरण मात्रै हुन्, यस्ता घटना वर्षाैंदेखि भइरहेका छन् ।

प्रविधिको विकाससँगै विश्वकै जुनसुकै कुनामा भएका घटना क्षणभरमै संसारभर फैलिन्छ । यसर्थ अहिले जानकारीमा आएका मात्रै हुन् । अझै आङलाई नै सिरिङ पार्ने कयौँ घटनाहरु कसैको पहुँच र शक्तिको आडको गर्भमा लुकेर बसेका होलान् । जे जति सार्वजनिक भइरहेका छन्, यसले विश्व समाज कुन दिशामा अघि बढेको छ भन्ने प्रष्ट्याएको छ ।

स्तब्ध पार्ने दुई घटना

भारतको बिहारमा एक नेपाली बालिकामाथि भएको क्रुर घटना र अर्काे बैतडीमा एक किशोरीमाथि भएको दुःखदायी घटनाले मुलुक स्तब्ध बनेको छ । निर्मला पन्तको बलात्कारी र हत्यारा कानुनी कठघरामा उभ्याउन सरकार चुकिरहेका बेला भएका यी दुई घटनाले हरेकलाई स्तब्ध बनाइएको छ ।

कानुनीराजको चर्काे भाषण दैनिक भइरहे पनि निर्मला पन्त, सम्झना विक हुँदै अहिले भागरथी भट्टसम्म आइपुग्दा कयौँ बालिकादेखि बृद्धासम्म यौनपिपासुको आक्रमण परे । तर, निर्मलाको हत्यारा पक्राउ नपर्दा दोहोरिएका यस्ता घटनाले समाजलाई त्रासमा राखेको छ ।

गत बुधबार विद्यालयबाट फर्केकी कक्षा १२ मा अध्ययनरत बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेर फ्यालिएको अवस्थामा बिहीबार शव फेला पर्‍यो । तर, भागरथीमाथि भएको सो घटनाको दोषी हालसम्म पक्राउ पर्न सकेका छैनन् । दोषीलाई पक्राउ र कारबाहीको माग राखेर मुलुकभरबाट आवाज उठिरहेको छ ।

भागरथीमाथि भएको क्रुरतासँगै बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कार गरेर हत्या गरेको घटनाले सबैलाई झनै स्तब्ध बनायो ।

भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लाको कुन्डवा चैनपुरमा बालिका विकको सामूहिक बलात्कारपछि हत्या गरिएको र प्रमाण लुकाउन उनका पितालाई बन्धक बनाएर गाउँलेले शव जलाउन दबाब दिएको घटनाले मानवता हराउँदै गएको पुष्टि गरेको छ ।

प्रमाण नष्ट गर्न स्थानीय प्रहरी, गाउँलेसहित मिलेर अभियुक्तहरुले मृतक विकका बुबालाई धम्की दिएर शव जलाउन बाध्य बनाइएको घटनाले नेपाल र भारतमा विरोध भइरहेको छ ।

गत २१ जनवरीमा परिवारसँग बस्दै आएकी विकको कोठामा कोही नभएकाबेला सामूहिक बलात्कारपछि हत्या भएको हो । चौकीदारी गर्दै आएका सुमित्राका बुवा घटनाका बेला कोठामा थिएनन् भने आमा सुकुम्बासी आयोगको लगतमा नाम दर्ता गर्न नेपाल आएकी थिइन् ।

एक्लै रहेको थाहा पाएपछि यही माघ ८ गते(२१ जनवरी) सुमित्राको बलात्कारपछि हत्या भएको हो । कोठाभित्र सुमित्राको भुइँमा ढलेको र घाँटीमा रातो डाम देखिएको अवस्था फेला परेकी थिइन् ।

उपचारका लागि लैजाँदा चिकित्सकले उपचार गर्न नमानेको, दोषीमाथि कारबाहीको माग गर्दै निवेदन दिँदा स्थानीय प्रहरी चौकीका इन्चार्ज (एसएचओ) सञ्जीवकुमार रञ्जनले नलिएको र गाउँले मिलेर शव जलाउन दबाब दिएको घटनाले समाज हिंसाको संरक्षण गर्न उद्दत रहेको पुष्टि भएको छ ।

एसएचओ सञ्जीवकुमार रञ्जन र अभियुक्तबीचको अडिओवार्ता भारतीय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो । ढिलै गरी बाहिर आएको सो घटनाको भारतीय प्रहरीले अनुसन्धान थालिसकेको छ भने घटना लुकाउन र प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको आरोपमा एसएचओ सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरिएको छ । सो घटनाको विषयमा नेपाल प्रहरीले पनि चासो देखाएको छ ।

एक साथ भएका यी दुई घटनाले मानवता हराउँदै गएको र हिंसालाई संरक्षण गर्न समाज नै अग्रसर भएको पछिल्लो उदाहरण बन्न पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस