मुस्कान खातुनले पाइन् ‘आइडब्लूओसी’अवार्ड, अमेरिकी प्रथम महिला र विदेश मन्त्रीले प्रदान गर्ने

काठमाडौं : मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज (आइडब्लूओसी) अवार्डबाट सम्मानित हुने भएकी छन्। उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि खेलेको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

धम्की र सामाजिक दबाबको सामना गर्दै तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा हर्षित भएको दुतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रममा उनलाई अवार्ड दिनेछन्। मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ।

मुस्कानले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरेपश्चात अध्यादेश जारी भएको बताइएको छ। ‘धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्।’

विज्ञप्तिमा भनिएको छ, ‘उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे।’

पुरस्कार शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने महिलाको सम्मान दिइने गरिएको दूतावासले जनाएको छ। ‘हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार,

लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका अघिल्ला विजेताहरूमध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन्। जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन्।’

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम-प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी थिइन्। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। उनको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ।

यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण रहेको छ। नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व भएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस