१० महिने बच्चाको वजन २८ किलो !

जन्मेको ९ महिना उमेर पुगेको बच्चाको तौल कति होला ? करीब १० किलो। तर मेक्सिकोमा भने एउटा बच्चा १० महिनाको हुँदा नै ९ वर्षको जत्तिकै वजनदार रहेको छ।

मेक्सिकोको कोलिमा भन्ने ठाउँमा बस्ने लुइस मेनुअल गोन्जालेज नामक बच्चाको तौल २८ किलो रहेको छ। अस्वभाविक तौलका कारण बच्चाको ज्यान त जोखिममा परेकै छ, बुवाआमालाई पनि सकस परेको छ।

जन्मिँदा साढे तीन किलो अर्थात् सामान्य तौलको रहेको लुइसको तौल त्यसपछि विस्तारै अस्वभाविक रुपमा बढ्न थालेको हो। आखिर के कारणले यति धेरै वजन बढिरहेको छ ? डाक्टरहरुले पनि अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । हर्मोनको असन्तुलनका कारण यस्तो भएको हुनसक्ने अनुमान छ।

सुरुमा त बच्चाको आमा इसाबेल पान्तोजालाई आफ्नो दुध निकै पोषिलो भएको हुँदा बच्चा राम्रोसँग सप्रिँदै गएको भन्ने लागेछ । तर जब बच्चा आवश्यकता भन्दा बढि नै सप्रिँदै गयो तब उनमा चिन्ता थपियो।

बच्चाका बुवाआमाले उसलाई स्थानीय अस्पतालमा देखाएका छन्। बच्चाको रोग यहीँ हो भनेर पत्ता नलागे पनि परीक्षणका रुपमा उसलाई हर्मोनल उपचार सुरु गर्ने डाक्टरहरुको योजना छ। तर हर्मोनल उपचारका लागि एक डोजको ५ सय डलर लाग्दछ। जबकि गोन्जालेजका बुवाको कमाई महिनाको २ सय डलर मात्र छ। जसका कारण उनीहरु छोराको उपचार गर्न समर्थ छैनन्।

छोराको उपचारका लागि पैसा जुटाउनका लागि गोन्जालेजका बुवाआमाले एक फेसबुक पेज तथा बैंक अकाउन्ट खोलेका छन्। यसबाट दयालु मानिसहरुले छोराको उपचारका लागि यथेष्ट रकम दान गर्ने आशा उनीहरुको छ।

प्रतिक्रिया दिनुहोस