यस्तो पनि : बीच बाटोबाटै दुलही लापत्ता…

मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो । बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए।

तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी-भुसावल रेलमार्गको पाटलीपुत्र सुपरफास्ट ट्रेनको एसी कोचबाट दुलही प्रिती लापत्ता भइन्। रातभरिको यात्राले गर्दा भुसुक्कै निदाएका जन्ती तथा बेहुलाका आँखा बिहान सात बजेतिर मात्रै खुल्यो । सँगै बसेकी दुलहीलाई नदेखेपछि छत्रपतिले खोजी सुरु गरे। जन्ती र बेहुला मिलेर ट्रेनभरि बेहुलीलाई खोजे।

तर, कतै फेला परिनन् । सोही रेलमा यात्रा गरिरहेका एकजना यात्रुले बिहान इटारसी स्टेसनमा दुलही उत्रिएको देखेका रहेछन्। उनले दिएको सूचनाका आधारमा दुलाहाले दुलही हराएको रिपोर्ट पुलिसकोमा लेखाएका छन् । पुलिसले रेल स्टेसनको सिसिटिभी फुटेज चेक गर्दा पनि दुलहीको सुइँको नपाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

दुलाहाका भाइले बताएअनुसार बिहेको वेला दुलही प्रितीको मुहारमा कत्ति पनि तनाव देखिएको थिएन । त्यसकारण आफूहरू बिहेको समयमै चकित परेको उनको भनाइ छ। दुलहीका बाबु जयराम शर्माका अनुसार प्रिती र छत्रपतिको जुलाई १ मा सघाइ भएको थियो । उनीहरू एकले अर्कालाई मन पराएरै बिहेका लागि राजी भएका थिए।

छोरी लापत्ता भएकोमा बाबु जयराम निकै तनावग्रस्त छन् । त्यो बिहेमा आठ लाख खर्च भएको थियो । प्रितीको गाउँका केही मान्छेले उनको अरूसँगै चक्कर रहेकाले ‘सेटिङ’ मिलाएर बीच बाटोमै भाग्न सफल भएकोसमेत जिकिर गर्ने गरेका छन्। तर, बाबु जयराम भने आफ्नी छोरीले त्यस्तो गर्नैनसक्ने दाबी गर्छन् । पुलिसले खोजी जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस