बैशाख ६ र ७ गते ५ वर्ष मुनिका बालबाालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । आगामि वर्ष २०७८ बैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ ।

स्वास्थ्य सेवा विभागले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिएको छ । साथै सोेही समयमा ६ देखि २३ महिनाबा बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा खुवाइने पनि विभागले जनाएको छ ।

विभागका अनुसार कोरोना संक्रमणको जोखिम रहेकाले बालबालिकाको पाखुराको मध्य भागको परिधिको नाप भने यसपटक लिइने छैन । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड परिपालन गर्दै कार्यक्रम सञ्चालन गर्न विभागले सबै प्रदेशलाई पत्रचार गरेको छ ।

भिटामिन ‘ए’ खुवाउने केन्द्रमा प्रति घण्टा १० जनामात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था मिलाउने र हरेक व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न सबै स्थानीय तहलाई विभागले निर्देशन दिएको छ ।

त्यस्तै, महिला स्वास्थ्य स्वयमसेविकाले भिटामिन ‘ए’ क्यापसुल काट्न प्रयोग गर्ने कैंची समयसमयमा स्यानिटाइजरले निसंक्रमण गर्ने, भिटामिन ‘ए’ वितरण गर्ने केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउने, स्वास्थ्यकर्मी तथा अभिभावकहरुले अनिवार्य मास्क लगाउन अपिल गरिएको छ ।
यदि कुन बालबालिकाको अभिभावकलाई संक्रमण पुष्टि भएको वा कोरोनाको लक्षण देखिएको छ भने भने खोप केन्द्रमा नल्याउन विभागले सूचित गरेको । त्यस्ता बालबालिकाको हकमा घरमा नै भिटामिन ‘ए’ क्याप्सुल, जुकाको औषधि,बालभिटा पुर्याइने छ ।

त्यस्तै, २०७७ चैत महिनामा हातिपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्लाहरु जस्तै झापा, मोरङ, धनकुटा, बारा, पर्वत, लमजुङ, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया तथा कैलालीमा दुई वर्ष माथिका बालबालिकाहरुले जुका औषधि समेत दिइने विभागले जनाएको छ ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण कार्यक्रम हुँदै आएको छ ।

वर्षमा २ पटक हुने यस कार्यक्रमअन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको छ । भिटामिन ‘ए’ कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।

६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस