४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड, नवोलीको बर्चश्व

काठमाडौं, १६ बैशाख नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ काठमाडौंको जमल स्थित नाचघरमा मँगलबार बेलुका सम्पन्न भएको छ । समारोहमा यो वर्ष सवैभन्दा बढी अवार्ड आधुनिक गीत नवोली नवोलीले जितेको छ । यस्तै वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड राजनराज सिवाकोटीको गीत फुलबुट्टे सारीले जितेको छ ।

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र बिलक्षण क्रियसनको व्यबस्थापनमा भएको थियो । समोरोहलाई कोरोनाको महामारीबाट श्रष्टालाई सुरक्षित गर्न सानो सानो समुह बनाई विभिन्न चरणमा सम्पन्न गरिएको थियो ।

अवार्ड समारोहमा कार्यक्रममा आजिवन योगदान गीत साधक सम्मानबाट बरिष्ट गीतकार एवम् प्राज्ञ उन्नती बोहरा सिलालाई सम्मानित गरियो । यस्तै १५ हजार रुपैयाँ राशी सहितको राष्ट्रिय रँग पत्रकारिता पुरस्कारबाट अग्रज रँग पत्रकार बिदूर गिरीलाई पुरस्कृत गरियो । उनी कामना मासिकका सम्पादक हुन् ।

समारोहमा गीत संगीत तर्फ विभिन्न ४७ विधामा अवार्ड प्रदान गरिएको थियो । लोक, आधुनिक, पप, लोकपप, राष्टिय, चाडपर्व, भाषाभाषी, भेष विशेष, बाल गीतमा अवार्ड प्रदान गरियो । यस्तै फेशन तर्फ विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो ।

बन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल राष्टिय सेवा सम्मानबाट सम्मानित भए । यस्तै अग्रज ब्युटिसियन एबम् रोज ब्युटी पार्लर एन्ड टे«ेनिङ सेन्टरकी अध्यक्ष सोनी कारंजित र ब्युटिसियन सारदा खतिवडालाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरियो । पत्रकार सूर्य चन्दलाई कोभिड बिरुद्धको सामाजिक अभियान्ताको रुपमा सम्मान गरियो ।

यस्तै खेलाडी डम्बरबहादुर नेपाली, ब्यबसायी बिनोद पोखरेल, विकाश श्रेष्ठ, गायक गंगाप्रसाद घिमिरे, समाजसेवी मिलनकुमारी गुरुङ, चलचित्रकर्मी रफी शाह, सनमकुमार बैराग, साहित्यकार रामचन्द्र ढकाल, कलाकार रमेश श्रेष्ठ, डा. सन्तोष शर्मा भुषाल, इभेन्ट अर्गनाईजर सानु खान, गीतकार सुरेन्द्र महर्जन (अमर) पनि कार्यक्रममा सम्मानित भए ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, बरिष्ट संगीतकार, शम्भुजीत बासकोटाको विशेष आतिथ्यतामा सम्पन्न सो समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पूर्व अध्यक्ष नवल खड्का, उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राज्ञ सत्यकला राई, अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री अनु शाह, उमावेवी गिरी, नृत्य निर्देशक कमल राईसहित विभिन्न अतिथिहरु थिए ।

अवार्ड समारोहको आयोजक पुजा निरौला, कार्यक्रम निर्देशकमा बालकृष्ण पोखरेल, कार्यक्रम संयोजकमा गायिका सरिता भारती, कार्यक्रमका सदस्यसचिबमा राजु अधिकारी थिए । कोभिडको कारण २०७६ अन्तिममा रोकिएको यो अवार्ड यसपटक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस