सरकारलाई प्रियंकाको आग्रह–‘पहिले चुनावमा भोट पाउन लायक काम गर्नुहोस्’

सामाजिक संजालमार्फत नायिका प्रियंका कार्कीले नेपाल सरकारसँग आग्रह गर्दै पहिले जनताको समस्या वुझ्न आग्रह गरेकी छिन् ।

उनले, यो समय चुनावको नभएर जनताको स्वास्थ्यमा ख्याल राख्ने रहेको उल्लेख गरेकी छिन् । प्रियंकाले लेखेकी छिन्–‘आखा खोलेर एक पटक नियालेर देशको स्थिती हेर्नुहोस् । अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन ।

यो अहिले प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र वुझ्न नसक्ने ? देश हाक्ने शक्ती, देशलाई प्रगती र उन्नतीको मार्गमा लाने र इमान्दारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होइन र ?’

उनले, अहिलेको समयमा दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित बढिरहेको, अस्पतालमा बेड नभएको, भेन्टिलेटर नभएको, अक्सिजन नभएको, जनताले खोप नपाएको अवस्थामा ४० अरब खर्च गरेर चुनाव गर्ने भन्दै प्रश्न सोझाएकी छिन् । उनले अगाडि लेखेकी छिन्–‘निषेधाज्ञा चलिरहँदा जनताले दुई छाक खान पाएका छैनन् । हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्ता नागरिकले देशको हालत र परिस्थितीमा सुधार ल्याउन दिन रात खटिरहेका छन् । जुन काम खासमा यो सरकारको हो ।’

जनताको आवश्यकता चुनाव नभएर अन्य कुरा भएको भन्दै प्रियंकाले यस्तो अवस्थामा वुझ पचाएर बस्ने भन्दै सरकारलाई प्रश्न सोधेकी छिन् । उनले अगाडि लेखेकी छिन्–‘अझै पनि आफूले आफूसँग नजर मिलाउन सक्छौ ए सरकार ? राती निन्द्रा राम्रोसँग त लाग्छ ? अहिलेको परिस्थिती वुझ्नुहोस् ।’

नायिका कार्कीले ४० अरव रुपैयाँ अक्सिजन सिलिन्डर, आइसीयू, भेन्टिलेटर, निःशुल्क खोप लगायतका बिषयमा खर्च गर्न पनि आग्रह गरेकी छिन् । यी कुराहरु प्राथमिकतामा परेको अवस्थामा मात्र जनता खुशी हुने र राहत मिल्ने प्रियंकाको भनाई छ ।

नायिका कार्कीले जनता रहे मात्र देश रहने भन्दै चुनाव समय परिस्थिती ठिक भएपछि गर्न पनि सुझाव दिएकी छिन् । उनले चुनावमा भोटको आश गर्ने भए भोट पाउन लायक काम गरेर देखाउन सरकारलाई चुनौती पनि दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस