के शैक्षिक प्रमाणपत्र बुझाउने बित्तिकै २५ लाख ऋण पाइन्छ ? यस्ता छन् प्रक्रिया

काठमाडौँ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जब अर्थमन्त्री विष्णु पौडेलले यो बुँदा पढे तब युवाहरु विलकुलै नयाँ कार्यक्रम आए जसरी सामाजिक सञ्जालमा पोखिए । कसैले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने हो अनि आफ्ना पहिलाको ऋण चुक्ता गर्दै जाने हो भन्दै लेख्न भ्याए भने कसैले प्रमाणपत्रको मूल्य बल्ल बुझेको बताउँदै सामाजिक सञ्जालका भित्तामा अभिव्यक्त भए ।

मानौँ शैक्षिक प्रमाणपत्र पेश गर्ने बित्तिकै २५ लाख हात परिहाल्छ जसरी । तर, ऋण लिन त्यति सजिलो भने छैन । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कलाई नै हेर्ने हो भने हालसम्म यस्तो ऋण पाउनेको संख्या १३९ जना मात्र छन् ।‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान’ का ७ प्रकारका योजनाहरु मध्येको एक योजना हो, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था ।

सरकारले यो योजनाको सकारात्मक र नकारात्मक दुवै खालका टिप्पणी सुन्न पाइन्छ । तर हालसम्म सरकारको योजना सफल रुपमा कार्यान्वयन भएको देखिँदैन । कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४ सय ४७ जनाले ऋण लिएका छन् भने महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीले कर्जा लिएका छन् । यसबाहेक अन्य कुनै कर्जा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको राष्ट्र बैङ्ककै तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस