मेलम्ची बाढीमा हेलम्बुदेखि २२ किलोमिटर बगेको गर्भिणी भैँसी सुत्केरी भयो

गत असार २ गते सिन्धुपाल्चोकको मेलम्ची खोलाको भीषण बाढीमा बगेर बाँच्न सफल गर्भिणी भैँसी सुत्केरी भएको छ । बुधबार राति बेथा लागेपछि पशु स्वास्थ्य प्राविधिकको सहयोगमा पाडो निकालिएको हेलम्बुबाट तारा शिवभक्तिले जानकारी दिए । पाडो भैँसीको पेटमै मरेको पाइएपछि निकालिएको उनले बताए ।

मेलम्ची बाढीमा हेलम्बुदेखि २२ किलोमिटर बगेको गर्भिणी भैँसीको सुखान्त कथा
​‘हिजो बेलुका ७ बजेदेखि भैँसीलाई बेथा लागेको थियो । पाडो आफै निस्कन नसकेपछि राती साढे ११ बजे पशु स्वास्थ्य प्राविधिकलाई बोलाएँ । साढे १२ बजेतिर पाडो निकालियो । पाडो मरिसकेको रहेछ,’ शिवभक्तिले भने ।

हेलम्बुका पशुस्वास्थ्य प्राविधिक गुणराज गजुरेलले पाडो निकालिदिएको शिवभक्तिले जानकारी दिए । भैँसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उनको भनाइ छ ।

उनले भने–‘भैसीको स्वास्थ्य ठीकै छ,घाँस खोले खाइरहेको छ । सुत्केरी भएको भएर होला अलि गाह्रो मानिरहेको जस्तो देखिन्छ । गजुरेल सरले औषधी दिन्छु भन्नुभएको छ । बिहान पनि औषधी दिएर जानुभयो । अहिलेसम्म पनि भैसीको साल नझरेकोले फेरी मैले उहाँलाई फोन गरेर बोलाएको छु ।’

प्रतिक्रिया दिनुहोस