पहिराेका कारण अवरुद्ध सडक दुई हप्तापछि सञ्चालन

मौली, असार १५ गते । लगातारको वर्षापछि आएको पहिराेले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो ।

गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो । सडक अवरुद्ध भएको स्थानमा स्काभेटर लगाएर पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको भिमाद–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि निरन्तरको वर्षा तथा सम्भावित जोखिमका कारण एक्साभेटर मालिक तथा चालक त्यहाँ कार्य गर्न तयार नभएकाले ढिलाइ भएको उहाँले बताउनुभयो ।

भिमाद नगर प्रमुख मेखबहादुर थापा, नगरपालिकाका सल्लाहकार मनोज खनाल तथा भिमाद–२ का वडाध्यक्ष भवानीशङ्कर लम्सालसहित नगरपालिकाको प्राविधिक सम्मिलित टोलीले स्थलगतरूपमा पहिराको निरीक्षण गरेको थियो ।

अवरुद्ध सडक सञ्चालन नहुँदासम्म सो क्षेत्रमै बसेर कार्य निरीक्षण गर्नुभएका नगरप्रमुख थापाले तत्कालका लागि सडक सञ्चालन भए पनि बर्सातको समय रहेकाले पानी पर्दा पुनः पहिरो गई सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यसका लागि दीर्घकालीन योजना बनाउन प्राविधिकलाई निर्देशन दिनुभएको छ । सडक अवरुद्ध हुँदा भिमाद–८ का अतिरिक्त शुक्लागण्डकी नगरपालिकाका सर्वसाधारण मर्कामा परेका थिए ।

बहुउद्देश्यीय भवन निर्माणका लागि ऋण सम्झौता

व्यास नगरपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनका लागि ऋण सम्झौता भएको छ । नगरपालिका र नगर विकास कोषबीच सोमबार ऋण सम्झौतामा हस्ताक्षर भएको हो । भवन निर्माणका लागि नगर विकास कोषको ७० प्रतिशत ऋण लगानी रहनेछ । कूल रु २८ करोड ८५ लाख ४४ हजारमा निर्माण हुने बहुउद्देश्यीय भवनका लागि नगर विकास कोषले रु २० करोड १९ लाख ८९ हजार ८०० ऋण उपलब्ध गराउनेछ भने नगरपालिकाले रु आठ करोड ६५ लाख ६३ हजार २०० बेहोर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणपश्चात् व्यवस्थित बजारीकरण तथा नगरपालिकाको आन्तरिक आयमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । बहुउद्देश्यीय भवन हाल नगरपालिका रहेको भवनभन्दा ठूलो बन्नेछ ।

नगरपालिका हाताभित्र रहेको पुरानो भवन भत्काएर सोही ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उक्त पुरानो भवनमा यसअघि नगरपालिकाको मुख्य प्रशासनिक कार्य सञ्चालन हुने गरेको थियो । पछि नयाँ भवन निर्माणपछि हाल उक्त पुरानो भवनमा शिक्षा, पशु र स्वास्थ्य शाखा सञ्चालनमा छन् ।

नगरपालिकाले तीन वर्षअघि निर्माण सम्पन्न भएको बहुउद्देश्यीय भवनबाट सेवा प्रवाह गरिरहेको छ । उक्त भवन नगरपालिकाले कार्यालय सञ्चालनका साथसाथै व्यावसायिक प्रयोजननका लागि भाडामा लगाएको छ । उक्त भवनबाट नगरपालिकालाई वार्षिक रु डेढ करोडभन्दा बढी आम्दानी हुन्छ ।

सो भवन निर्माणका लागि पनि नगर विकास कोषले ऋण उपलब्ध गराएको थियो । भवन निर्माणका लागि नगर विकास कोषले रु छ करोड ९४ लाख ४९ हजार ४०५.५ प्रतिशत सरल ऋणमा र रु तीन करोड २९ लाख ५८ हजार आठ प्रतिशत ऋणमा उपलब्ध गराएको थियो । त्यसमा नेपाल सरकारले रु ८५ लाख ३३ हजार ९५० अनुदान दिएको थियो भने रु २८ लाख ४४ हजार ६५० नगरपालिकाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस