देवा : एक पात्र

काठमाडौं । दाई भन्दै थिए । सहकारीबाट ऋण लिएर बाख्रापालन थालेको कोरोनाको चपेटामा परेर खासै उपलब्धि होला जस्तो छैन ।

(देबा – संस्करण भरि नै म पात्र हो ) देबा – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने भएको छ । अब आफ्नो कृषि पेसालाई आधुनिकीकरण गरेर कृषि क्रान्ति गर्नुपर्छ । (यो भनाई हो हकिगत अर्कै छ)

नरे र शिवेको त भिसा आइसक्यो । हर्के तीन महिना अघि नै पारी तरिसक्यो । नन्दे र पर्शेले बाको नै व्यवसायलाई अगाडी बढाउने भएका छन् । अरू अरूले पनि केही केही गरि नै रहेका छन् ।

दिनभरीको क्यारेमबोर्ड र लुँडोको दर्शक भन्दा पनि समालोचक । चौकमा बसेर चिया गफैमा दिन बिताउने खुबीलिटी । धन्न नसमातेको सोमरस हो । काम छैन सरकारले गरिदिएन, सत्तोसराप र धारे हात । जाँगर शुन्य बाँझो बारी राखेर काम गर्ने वातावरण नै छैन।

विश्वविद्यालयले दिएको शैक्षिक प्रमाणपत्र त सिरानीमा राखेको छ । आफ्नो व्यवसाय सुरू गर्ने हिम्मत छैन । सोच त दामी छ नि अल्छी लाग्छ । यति पो पढेको छु त त्यो झार्रेझुर्रेमा अड्किन्छु तर लड्न मैदानमा छिर्नु छैन ।

बाझोबारी देख्दा मन दुख्छ तर कोदाली समात्नै हुन्न । अर्काको प्रगतिमा डाहा लाग्छ तर उठ्ने भनेको आधा जुवा घाम निस्केपछि । गाई पालेर दुध खाने हैन कालो चिया नै ठिक । घाम लाग्दा गर्मी हुने र पानी पर्दा रुझिने काम गर्ने त वातावरण नै छैन नि ।

यो देबाको चरित्र हो । देबा म हुँ । देबा मेरो समाजमा देखिएको अल्छी प्रवृत्ति हो । देबा पढेलेखेको बेरोजगार हो किनकि उसले सरकारलाई दोष दिन्छ मात्रै, आफ्नो बुद्धीले रोजगार सिर्जना गर्न सक्दैन । देबा परनिर्भर पात्र हो । देबा आह्रिसे तर शुन्य हिम्मत हो । म देबा हो ।

प्रतिक्रिया दिनुहोस