अमेरिकाका २ सहरका अस्पतालमा कुनै औषधिले काम नगर्ने सुपरबग फंगस संक्रमण फैलियो

काठमाडौं। अमेरिकामा अहिले यस्तो फंगल संक्रमण फैलिएको छ जसविरुद्ध औषधिले काम गरिरहेको छैन । यो एक किसिमको फंगल अर्थात ढुसीजन्य संक्रमण हो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार यो ढुसीजन्य संक्रमणबाट पीडितहरुको लामो समयसम्म उपचार गरिनुपर्छ । यो संक्रमणमा एन्टिफंगल औषधिले पनि काम नगरेपछि डाक्टरहरु चिन्तित छन् ।

सीडीसीले जारी गरेको एक रिपोर्टअनुसार वाशिङटन डिसीमा जनवरीदेखि अप्रिलसम्म यो संक्रमणका १०१ केस भेटिएका छन् । यही समयमा टेक्सासमा २२ केस भेटिएका छन् । यीमध्ये ३० प्रतिशत मानिसहरुको मृत्यु भएको छ । वाशिङटन र टेक्सासका अस्पतालमा रहेका पीडितहरुलाई भएको यो संक्रमणको नाम क्यान्डिडा ओरिस हो । यो संक्रमणमा कुनै पनि एन्टिफंगल औषधिहरुले काम गरिरहेका छैनन् र मृत्यु हुनेहरु पनि यही संक्रमणका कारण मरेका हुन् भन्ने पुष्टि गर्न कठिन भइरहेको छ ।

क्यान्डिडा ओरिस नयाँ फैलिँदै गरेको फंगस हो । यसलाई सबैभन्दा पहिले १००९ मा जापानका डाक्टरहरुले पत्ता लगाएका थिए । शोधमा त्यस समय यो फंगस पाकिस्तान, भारत, दक्षिण अफ्रिका र भेनुजुएलामा पनि रेकर्ड गरिएको खुलासा भएको थियो । यो फंगसका कारण नशाहरुमा, घाउको आसपास र कानमा संक्रमण हुन्छ । यो संक्रमण गम्भीर अवस्थामा पुगेर ज्यान पनि जान सक्छ । यो फंगसले रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरु, खासगरी अरु रोगको उपचारका लागि अस्पताल भर्ना भएका मानिसहरुलाई संक्रमित गरिरहेको छ ।

हालै ब्राजिलमा पनि कोभिड–१९ संक्रमित केही बिरामीहरुमा क्यान्डिडा ओरेसको संक्रमण पाइएको थियो । सीडीसीले यो औषधि प्रतिरोधी फंगल संक्रमणलाई स्वास्थ्यका लागि गम्भीर विश्वव्यापी खतरा भनेको छ । कुनै औषधिको असर नभएका कारण यसलाई सुपरबग फंगस पनि भनिएको छ । यो फंगसका ३ स्ट्रेन निकै कडा छन् । अमभेरिकामा वाशिङटन डिसी र टेक्सासमा भेटिएका केसहरुको आपसी सम्बन्ध भने नभएको बताइएको छ । सीडीसीले यी संक्रमणका केस कुन अस्पतालमा भेटिएको हो र यो फैलिनुको कारण के हो भन्ने बताएको छैन ।

प्रतिक्रिया दिनुहोस