मन्त्रालय बाँडफाँडको टुंगो लाग्यो , कुन पार्टीले कति मन्त्रालय पाउने ?

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । यसअघि प्रधानमन्त्री नियुक्त भएको २ हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसकेको भन्दै देउवाको चर्को आलोचना हुँदै आएको छ । अब भने मन्त्रिपरिषदमा पार्टीगत बाँडफाँड मिलिसकेपछि भने मन्त्रिपरिषद् बिस्तार गर्न केहि सहज हुने अनुमान लगाउन सकिन्छ ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको एक नेताले जानकारी दिए । उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन । राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ ।

काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस