लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

सुष्मा सुब्बा लामा नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन्, यति थोरै मानिसलाई सुव्यवस्था गर्न राज्य सयन्त्रलाई यति धेरै धौ धौ हुनु लाजमर्दो कुरो हो ।

मैले यसो भनिरहँदा कोही कसैप्रति अपमान गर्न खोजेको होइन, भलै यो यथार्थलाई आम नेपालीमाझ पस्कनै पर्छ भन्ने मेरो आशय भने पक्कै हो । वास्तवमा अहिले नेपाल लकडाउन, लुजडाउन अनि फेरि लकडाउनको चक्रब्युमा फसिरहेको छ ।

एकदिन अघि कोरोना कहरका डरले लकडाउन हुने, प्रशासनले केही दिन अत्याधिक कडाइ गर्ने, अनि फेरि लुजडाउन गर्दै जाने, महामारीको रोकथामका लागि कुनै भूमिका नखेल्ने मात्रै लकडाउनलाई महामारी रोक्ने अस्त्रको रुपमा लिने सरकारी रबैया नै गलत छ । विहान ९ बजेसम्म पसल खोल्न दिने, त्यसपछि बन्द गर्ने र फेरि बेलुकी दुईघण्टाका लागि खुकुलो बनाइदिने अवैज्ञानिक प्रणाली नै हाँसो उठ्दो कुरो छ । तरकारी बजारमा यति धेरै मानिस हुन्छन् कि तिनले कोरोना संक्रमण फैलाउँदैनन्, तर दुई चारजना भेला भएर हिड्दा कोरोना सरिहाल्छ, संक्रमण दर बढिहाल्छ भन्ने अबुझ र अदूरदर्शी सोच अहिलेको पराकाष्ठा हो ।

यो श्रृंखला हेर्दा हेर्दा १६ महिना वितिसक्यो । सरकार लकडाउन र लजुडाउनकै गणीतमा फसिरहेको छ ।
सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिँदै यसले मानव जातिलाई नै अक्रान्त बनाइरहेको छ । यस महामारीले समाजका हरेक तहतप्काकालाई असर पुर्याउँदै आएको छ भन्दा अतिसयुक्ति नहोला ।

हुन त मानव जातिको उदयसँगै यसप्रकारका थुप्रै महामारीहरु फैलिएको र त्यसबाट हजारौँ, लाखौँ, करोडौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेका उदाहरणहरु हामीसँग जीवितै छन् । रोगकै कारण मानिसले औषधीको निर्माण गर्यो, आवश्यकता महसुस हुँदै जाँदा विश्वमा अन्य थुप्रै आविष्कारहरु भए ।

१४ औँ शताब्दीको पाँचौँ र छैठाँै दशकमा ‘प्लेग’ को महामारी युरोपभर फैलियो । जसका कारण युरोपको एकतिहाई जनसंख्या मृत्युको मुखमा पुगेको थियो । १५औँ शताव्दीको अन्त्यसम्ममा अमेरिकामा ठेउलाको महामारी र जलवायु परिर्वतनले ठूलै समस्या निम्त्याए ।

युरोप बिस्तारपछि अमेरिकाको करिब ६ करोड जनसंख्या उक्त एक शताब्दीमा घटेर ६० लाखमा सीमित भएको तथ्यांक बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनका वैज्ञानिकहरुले आफ्नो एक अध्ययनमा समावेश गरेका छन् । सन् १६४१ मा उत्तरी चीनमा फैलिएको प्लेगले २० देखि ४० प्रतिशत जनसंख्या साफ भयो भने सोही महामारीका कारण मिङ राजवंशको पतन भएको इतिहास छ ।

दादुरा, मलेरिया, प्लेग, रुघाखोकी र टाइफसलगायत रोगले अमेरिकामा करोडौँ मानिसको ज्यान लिए । जसको परिणाम सम्पूर्ण विश्वले नै बेहार्नुपर्यो । महामारीकै इतिहासमा एल्लो फिभर र फ्रान्सविरुद्ध हाइटीको बिद्रोहले आफ्नो इतिहास ताजै राखेको पाइन्छ ।

त्यसो त अफ्रिकी जनावरहरुमा फैलिएको एक महामारीका कारण युरोपेली मुलुकलाई आफ्नो साम्राज्य फैलाउने मौका मिल्यो । सन् १८८८ र १८९७ का बीचमा फैलिएको राइण्डरपेष्ट नामको उक्त भाइरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनावरहरुको विनास गर्यो । यसलाई जनावरमा हुने ‘ब्लेग’ नामाकरण गरियो । फलस्वरुपः युरोपेली शक्ति राष्ट्रहरुले सन् १९०० सम्ममा अफ्रिकी मुलुकहरुका ९० प्रतिशत भूभाग कब्जामा ल्याइसकेका थिए ।

समयको अन्तरालसँगै आधुनिक चिकित्सा जगत्मा यति ठूलो विकास भयो कि लाग्थ्यो अब त कुनै महामारीबाट मानिस तथा अन्य जीवले अनाहकमा ज्यान गुमाउनु पर्दैन होला । तर त्यसो भएन । पछिल्लो समय कोरोना भाइरसको प्रकोपले विश्वका करोडाँै मानिसको दैनिकी नाटकीय रुपमा बन्द कोठाभित्र सीमित हुन थालेको छ । विश्वभरमा मानिस जुन रहनसहन र खानपानमा बस्दै र रमाउँदै आएका थिए, त्यसमा आकाश जमीनको अन्तर आएको छ ।

करोडौँ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । उद्योगधन्धाहरु बन्द छन्, मजदुरले तलब नपाउँदा रोगले भन्दा भोकले मर्ने अवस्था बढ्दो छ । महामारीको यो चक्रीय प्रणाली अगाडि बढिरहँदा नेपालमा भने सरकार आँखा चिम्म गरेर बसेको आभाष हुन्छ, ऊ मात्र जान्दछ लकडाउन, अनि लुजडाउन र फेरि लकडाउन ।

यहाँ त लाजमर्दो कुरो केसम्म भइसक्यो भने नेपालमा दाताहरुले विभिन्न कम्पनीका झण्डै ९० लाख डोज खोप दिइसकेका छन्, तर सरकार यति धेरै निकम्मा भइसकेको छ कि त्यसकै कारण लगभग २१ लाख मानिसले खोप लाउन पाए छन् भने बाँकी खोप त्यसै फ्रिज भएर सरकारको ढुकुटीमा खेर गइरहेको छ । सरकारकोे खोप वितरण प्रणाली यति नराम्रोसँग छताछुल्ल भयो कि मानौँ अब त्यो जोसँग छ उसले नै आफूखुशी पैसा लिँदै बेच्दै गर्ला कि भन्ने आशंका पनि उब्जन थालेको भान हुन्छ ।

एकातिर सरकारको ढुकुटीमा खोप भण्डारण हुँदै अब त्यो ‘आउटडेटेड‘ हुने क्रममा छ भने आममानिसमा कहिले खोप लाउँला र बाचौँला भन्ने झिनो आशा भने मेटिएको छैन । खोपका लागि घण्टौँ लामो लाइन यत्रतत्र देखिन्छ । आफ्नो पालो आयो खोप सकियो भन्ने उर्दी आउँछ ।

जसले गर्दा मानिसमा सरकारप्रति नै विश्वास घट्दो छ । कोभिडलाई लिएर अब त के पनि भन्न थालिएको छ भने महामारीको यो श्रृंखला छैठौँ भेरियन्टसम्म जान्छ, सन् २०२३ सम्म नै यस्तै हुनेवाला छ । यो वास्तविकता वा अफबाह मात्रै हो, त्यो सम्वन्धित निकायले पत्ता लगाउनुपर्छ । यदि वास्तविकता नै हो भने अब आममानिसको रोजगारी, बालबालिकाको शिक्षा एवं भविष्यका लागि निच मारेर बस्ने बेला छैन । किनकि रोग र भोक सँगसँगै आउने र जाने प्रक्रियाहरु हुन् । यिनलाई गफले टार्न सकिँदैन र तत्काल राज्य व्यवस्थाले समाधानको उपाय पत्ता लगाउनैपर्छ ।खोपको विकल्प रोग प्रतिरोधी क्षमताको विकास

प्रतिक्रिया दिनुहोस