ब्लड क्यान्सरको सुरुवाती ६ संकेत

एजेन्सी । शरीरका लागि रगत महत्वपूर्ण छ । रातो रक्तकोष र सेता रक्तकोष मिलेर रगत बनेको हुन्छ । शरीरका अंगहरुमा अक्सिजन र अन्य पौष्टिक तत्वहरु रगतको माध्यमबाट नै पुग्ने गर्छन् । यदि कुनै व्यक्तिको रगतमा खराबी भएमा उसलाई ठूलो स्वास्थ्य समस्या देखिन सक्छ । ब्लड क्यान्सर पनि त्यस्तै खतरनाक रोग हो । रगत बोनम्यारोबाटै बन्ने भएकाले ब्लड क्यान्सर पनि बोनम्यारोबाट नै सुरु हुन्छ । सुरुवाती चरणमा यसका लक्षणहरु सामान्य हुन्छन्, जसलाई प्रायः मानिसहरुले बेवास्ता गरिरहेका हुन्छन् ।

बारम्बार संक्रमण : ब्लड क्यान्सर भएको व्यक्ति बारम्बार विभिन्न संक्रमणबाट ग्रसित हुन्छ । ब्लड क्यान्सर भएको व्यक्तिको रगतमा केही यस्ता कोषहरू विकसित हुन्छन्, जसले स्वास्थ्यमा हानी पुर्याउँछ । रगत हाम्रो शरीरको प्रत्येक अंगमा पुग्ने भएकाले यसको लक्षण कुनैपनि अंगमा देखिन सक्छ । सामान्यतया ब्लड क्यान्सरको बिरामीमा छालाको संक्रमण (छालाको रंग रातो, कालो या फुस्रो हुनु, डाबर या खटिराहरू देखापर्नु), फोक्सोको इन्फेक्सन, घाँटी या मुखको इन्फेक्सन हुन सक्छ । एकैसाथ अन्य कयौँ इन्फेक्सन पनि हुन सक्ने सम्भावना रहन्छ ।

चोट लाग्दा रगत बग्न नरोकिनु : बाह्य हावाको सम्पर्कमा आउँदा रगत जम्ने प्रक्रिया सुरू हुने भएकाले सामान्यतया एक स्वस्थ व्यक्तिको शरीरमा चोटपटक वा स्क्र्याच आउँदा रक्तस्राव प्रायः छोटो समयमा आफैँ रोकिने गर्छ । तर ब्लड क्यान्सरका बिरामीमा यस्तो प्रक्रिया हुँदैन । यदि कुनै व्यक्तिलाई ब्लड क्यान्सर एको छ भने उसलाई चोट लागेमा रक्तस्राव छोटो अवधिमा रोकिँदैन र घाउ निको हुन पनि लामो समय लाग्छ । बिनाचोटपटक नाक वा दाँतका गिजाबाट रगत बग्ने, महिनावारीमा अत्यधिक रक्तस्राव हुनेलगायतका लक्षणहरू पनि देखिन सक्छन्, जुन हामी बेवास्ता गरिरहेका हुन्छौँ ।

हरेक समय थकान महशुस र सुस्त हुनु : थकान र सुस्तता क्यान्सरका धेरै सामान्य लक्षणहरू हुन्, जुन हामी आफैंमा पनि प्रायः महशुस गर्न सकिन्छ । तर थकानका कारण हामीलाई दैनिक काम गर्न समेत असहज हुन थाल्यो र दिनभर सुस्त रहियो भने तुरून्त चिकित्सकसँग परामर्श गरी जाँच गराउनुपर्छ । किनकी यो ब्लड क्यान्सरको प्रारम्भिक लक्षण पनि हुन सक्छ ।

तीव्र गतिमा तौल घट्नु : यदि आफ्नो तौल अचानक घट्दै गयो भने तौल परीक्षण गर्नु अत्यावश्य हुन्छ । एक महिनाभित्र बिना कुनै प्रयास, २।५ किलोभन्दा धेरै कम तौल भयो भने यो स्वास्थ्यसम्बन्धी समस्याको संकेत पनि हुन सक्छ। ब्लड क्यान्सर हुँदा पनि बिना कारण तौल घट्न थाल्छ ।

जोर्नीमा दुखाइ : जोर्नीको दुखाइ हुने समस्यालाई पनि हामी सामान्य रूपमा लिन्छौँ । सामान्यतया जोर्नी दुखाइको कारण धेरै हुन सक्छन् । थकान, हड्डीको कमजोरीलगायतका कारण पनि जोर्नीमा दुखाइ हुन्छ । यद्यपि ब्लड क्यान्सरको कारण पनि जोर्नी र हड्डीमा दुखाइ हुन सक्छ ।

भोक कम लाग्नु, पेटमा समस्या देखिनु : ब्लड क्यान्सरले पाचन प्रणालीमा पनि नराम्रो प्रभाव पार्छ । भोक लाग्दैन । अपच, कब्जियत, दिसा(पिसाबमा रगत देखिनेलगायतका लक्षणहरू देखिन्छन् । यस्ता लक्षण देखिए तुरून्त स्वास्थ्य जाँच गराउन चिकित्सकहरू सल्लाह दिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस