पन्जसिरमा बाल लडाकु जो तालिबानविरुद्धको युद्धमा होमिएका छन् !

अफगानिस्तानको पन्जसिर उपत्यकामा तालिबान र तालिबानविरुद्धको लडाकुले फरक–फरक दाबी गरिरहेका छन्। पुरै देश कब्जा गरिसक्दा तालिबानले पन्जसिर उपत्यका मात्र कब्जा गर्न बाँकी छ।

यसबीचमा तालिबानले यो उपत्यका पुरै घेरेको दाबी गर्दा तालिबान विरोधी समूह नेसनल रजिस्टेन्स फ्रन्ट एनआरएफले भने उक्त उपत्यका वरपर देखिए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पन्जसिरलाई तीन तिरबाट घेरेको जानकारी ट्विटरमा दिएका छन् र भनेका छन्,‘हामी विवाद शान्तिसँग समाधान गर्न चाहन्छौं।’ एनआरएफले पनि तालिबानले सत्ता समावेशी ढंगबाट चलाए र महिला अधिकारको विषयमा खुकुलो भएमा तालिबानको सरकारमा आउनसक्ने बताएको छ।

तर आइपरेको खण्डमा आफूहरु युद्धको लागि तयार भएको र आफूहरुसँग पर्याप्त हतियार र लडाकु भएको पनि एनआरएफको भनाइ छ। यसबीचमा पन्जसिरका बाल लडाकुहरुको तस्बिरहरु सार्वजनिक भएको छ।

तस्बिरमा देखिएअनुसार उनीहरु हतियार सम्पन्न छन् र उनीहरु हतियार चलाउने पोख्त भएको बताइन्छ। यी बाल लडाकुले तालिबानविरद्धको युद्धमा एनआरएफलाई सहयोग गर्ने बताइएको छ।

नेसनल रेजिस्टेन्स फ्रन्ट एनआरएफका अनुसार देशको सबैभन्दा ठूलो समस्या केन्द्रिकृत राजनीतिक व्यवस्था हो। हालैमात्र एनआरएफका प्रवक्ता अली नजिरीले भनेका थिए, ‘अफगानिस्तान विभिन्न जातीय अल्पसंख्यकको देश हो।

यो विविधतापूर्ण संस्कृतिको घर हो। यहाँ सत्तामा साझेदारीको जरुरत छ। सत्तामा हरेक समुदायलाई समेट्नुपर्छ। यदी कुनै एकल राजनीतिक शक्ति हाबी हुन खोज्छ भने त्यो कदापी हुन सक्दैन, त्यसले गृहयुद्धलाई बढावा दिन्छ र लडाइँ जारी रहन्छ।’

प्रतिक्रिया दिनुहोस