कोरोनाका बिरामीले अब दिनमा २ चक्की खाए निको हुने, पहिलोपल्ट बेलायतले दियो अनुमति !

एजेन्सी । कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ । लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।

‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की भर्खरै कोभिडको लक्षण देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुईपटक दिइनेछ ।

उक्त चक्कीले कोरोना लागेपछि अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ । शुरूमा यो औषधि रुघाखोकीको उपचारका लागि विकास गरिएको थियो । तर कोरोनामा यसले धेरै लाभदायक काम गरेपछि प्रयोगका लागि अनुमति दिइएको हो ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो औषधि ‘महत्त्वपूर्ण’ हुने बताएका छन् ।

यसलाई विश्वकै पहिलो अनुमोदित चक्की भनिएको जो कोरोना लागेपछि उपचार गर्नमा प्रभावकारी देखिएको छ । स्वास्थ्यमन्त्री जाविदले भनेका छन्, ‘हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो। कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ ।’

विश्वकै पहिलो

कोभिड विरुद्धको यो नै पहिलो ओखती हो, जसलाई सुईको सट्टामा मुखबाट खान सकिन्छ ।

बिबिसीका अनुसार कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ ।

संस्थाकी प्रमुख कार्यकारी जुन रेनले कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल औषधि रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘यो महत्त्वपूर्ण छ किनकि कोभिड गम्भीर अवस्थामा पुग्नुअघि अस्पतालबाहिर पनि यसको प्रयोग गर्न सकिन्छ ।’

खरिद सम्झौता

मोल्न्यूपिरभीर औषधि अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएका हुन् । याे क्याप्सुल वा चक्कीमा उपलब्ध रहेकाे बताइएकाे छ ।

बेलायतले उत्पादक कम्पनीहरुसँग यो औषधिको प्रयोगको अनुमति दिएसँगै पहिलोपटक यही वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर चक्की खरिद गर्ने सम्झौता गरेको छ । साथै उसले हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको चक्की पनि २ लाख ५० हजार खरिद गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस